क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली लन्डनमा


लन्डन । संयुक्त अधिराज्यको वेल्स राज्यमा आउंदो महिना हुने क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा सहभागी हुन नेपाली सेनाको १० सदस्यीय टोली शनिबार लन्डन आइपुगेको छ ।
टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र पट्रोल कमाण्डर लेफ्टीनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा लन्डन आएको टोलीलाई लन्डनस्थित नेपाली राजदूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत गरेका थिए ।
आउंदो २ देखि १३ अक्टोबर २०२६ सम्म हुने उक्त अभ्यास बेलायती सेनाको गस्तीसम्बन्धी प्रमुख अभ्यास मानिन्छ । यसको आयोजना ‘मुख्यालय १६०औँ (वेल्स) ब्रिगेड’ ले गरेको हो ।
सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।
यस अभ्यासमा नेपाली सेनाले वर्षेनी उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाम अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ ।
गत वर्ष नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । उक्त अभ्यासमा गत वर्ष कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए ।
अघिल्लो वर्ष २०२४ मा पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए ।
यसअघि सन् २०१७ र २०१९ मा समेत नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।
निकै कठोर मानिने यो अभ्यासमा मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने ब्रिटिश आर्मीको भनाइ छ ।
अभ्यासमा सहभागी टोलीको लडाईं तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।
८ चरणमा विभाजित हुने अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


