बाढीपीडितको सम्झनामा बेलायतको बर्मिङहममा ५५५ दीप प्रज्वलन


बर्मिङहम- शान्ति नेपाली समाज बेलायतले नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाउने तथा प्रभावितहरूको सम्झनामा बिहीबार साँझ बर्मिङहम सिटी सेन्टरस्थित भिक्टोरिया स्क्वायरमा ५ सय ५५ दीप प्रज्वलन गरेको छ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भर्चुअल उपस्थिति तथा एनआरएनए आइसीसीका प्रवक्ता सोम सापकोटासहित करिब २ सय जनाको सहभागितामा सम्पन्न कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदनाका साथै बेपत्ताको शीघ्र खोजी तथा घाइतेको स्वास्थ्यलाभ कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
सो अवसरमा ;भर्चुअल’ सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले विपत्तिका बेला शान्ति नेपाली समाज र बेलायतस्थित सिंगो नेपाली समुदायले पुर्याएको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए। राहत रकम सुरक्षित रूपमा प्रधानमन्त्री राहत कोषसम्म पुर्याउन संस्थाहरू सचेत र जिम्मेवार हुनुपर्ने उनले बताए।
एनआरएनए आइसीसी प्रवक्ता सोम सापकोटाले बेलायत–नेपाल सम्बन्धलाई नेपाली समुदाय र सामाजिक संस्थाहरूले थप मजबुत बनाउँदै आएको बताए। बाढीपीडितलाई बेलायत सरकारले गरेको सहयोगका लागि उनले धन्यवाद दिए।
समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले ‘अनेकतामा एकता र एकतामा विविधता’ नेपाली संस्कार भएको बताउँदै आवश्यक पर्दा राहत रकम मात्र नभई रगत दिनसमेत तयार रहेको बताए।
पूर्वअध्यक्ष कोशलेश्वर ढकालले टेक गुरुङ परिवारलाई तत्काल राहतस्वरूप पाँच सय ५५ पाउन्ड र सदस्यहरूको राहत तथा खोजीका लागि एक हजार पाउन्ड उपलब्ध गराएको जानकारी दिए।
घटनाको १२ घण्टाभित्रै प्रधानमन्त्री राहत कोषमा दुई लाख ५० हजार रुपैयाँ पठाएको र थप १२ देखि १५ लाख रुपैयाँ अर्को साता नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गरिने उनले जनाए।
समाजका उपाध्यक्ष निशान्तमान बज्राचार्यले तत्काल राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणमा जुट्नुपर्ने बताए। संस्थाले दुई सातासम्म बाढीपीडितको राहत, खोजी, पुनर्स्थापना र पुनर्निर्माणबाहेक अन्य कार्यक्रममा सहभागी नहुने निर्णय गरेको उनले जानकारी दिए।
महासचिव राजेशमणि लामिछानेले बाढीले जीवन, घर, धनसम्पत्ति, खेतबारी र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको बताए। उनले बेलायतस्थित नेपाली समुदायलाई उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा एकजुट हुन आग्रह गरे।
कार्यक्रममा एनआरएनए यूकेका सचिव डिएन खराल, समाजका कोषाध्यक्ष काशी बन, प्रवक्ता डिआर पराजुली, पूर्वअध्यक्ष प्रविन खराल, सल्लाहकारहरू ठाकुर ज्ञवाली, शंकर भण्डारी, चन्द्र सहानी, बाबुराम सापकोटा र जयन्ती थापा, प्रमुख सांस्कृतिक संयोजक सीता पौडेल, सांस्कृतिक संयोजक पार्वती भण्डारी तथा काभ्रे समाज यूकेका अध्यक्ष रामचन्द्र अधिकारीलगायत सहभागी भएका थिए।
कार्यक्रम सञ्चालन समाजका महासचिव राजेशमणि लामिछानेले गरेका थिए।





