शुक्रबार, ४ सेप्टेम्बर, २०२६
08:40 | १३:२५

बाढीपीडितको सम्झनामा बेलायतको बर्मिङहममा ५५५ दीप प्रज्वलन

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२६

बर्मिङहम- शान्ति नेपाली समाज बेलायतले नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाउने तथा प्रभावितहरूको सम्झनामा बिहीबार साँझ बर्मिङहम सिटी सेन्टरस्थित भिक्टोरिया स्क्वायरमा ५ सय ५५ दीप प्रज्वलन गरेको छ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भर्चुअल उपस्थिति तथा एनआरएनए आईसीसीका प्रवक्ता सोम सापकोटासहित करिब २ सय जनाको सहभागितामा सम्पन्न कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदनाका साथै बेपत्ताको शीघ्र खोजी तथा घाइतेको स्वास्थ्यलाभ कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

सो अवसरमा भर्चुअल सम्बोधन गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीले विपत्तिका बेला शान्ति नेपाली समाज र बेलायतस्थित सिंगो नेपाली समुदायले पुर्र्याएको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए। राहत रकम सुरक्षित रूपमा प्रधानमन्त्री राहत कोषसम्म पुर्‍याउन संस्थाहरू सचेत र जिम्मेवार हुनुपर्ने उनले बताए।

एनआरएनए आइसीसी प्रवक्ता सोम सापकोटाले बेलायत–नेपाल सम्बन्धलाई नेपाली समुदाय र सामाजिक संस्थाहरूले थप मजबुत बनाउँदै आएको बताए। बाढीपीडितलाई बेलायत सरकारले गरेको सहयोगका लागि उनले धन्यवाद दिए।

समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले ‘अनेकतामा एकता र एकतामा विविधता’ नेपाली संस्कार भएको बताउँदै आवश्यक पर्दा राहत रकम मात्र नभई रगत दिनसमेत तयार रहेको बताए।

पूर्वअध्यक्ष कोशलेश्वर ढकालले टेक गुरुङ परिवारलाई तत्काल राहतस्वरूप पाँच सय ५५ पाउन्ड र सदस्यहरूको राहत तथा खोजीका लागि एक हजार पाउन्ड उपलब्ध गराएको जानकारी दिए। घटनाको १२ घण्टाभित्रै प्रधानमन्त्री राहत कोषमा दुई लाख ५० हजार रुपैयाँ पठाएको र थप १२ देखि १५ लाख रुपैयाँ अर्को साता नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गरिने उनले जनाए।

समाजका उपाध्यक्ष निशान्तमान बज्राचार्यले तत्काल राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणमा जुट्नुपर्ने बताए। संस्थाले दुई सातासम्म बाढीपीडितको राहत, खोजी, पुनर्स्थापना र पुनर्निर्माणबाहेक अन्य कार्यक्रममा सहभागी नहुने निर्णय गरेको उनले जानकारी दिए।

महासचिव राजेशमणि लामिछानेले बाढीले जीवन, घर, धनसम्पत्ति, खेतबारी र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको बताए। उनले बेलायतस्थित नेपाली समुदायलाई उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा एकजुट हुन आग्रह गरे।

कार्यक्रममा एनआरएनए यूकेका सचिव डिएन खराल, समाजका कोषाध्यक्ष काशी बन, प्रवक्ता डिआर पराजुली, पूर्वअध्यक्ष प्रविन खराल, सल्लाहकारहरू ठाकुर ज्ञवाली, शंकर भण्डारी, चन्द्र सहानी, बाबुराम सापकोटा र जयन्ती थापा, प्रमुख सांस्कृतिक संयोजक सीता पौडेल, सांस्कृतिक संयोजक पार्वती भण्डारी तथा काभ्रे समाज यूकेका अध्यक्ष रामचन्द्र अधिकारीलगायत सहभागी भएका थिए।

कार्यक्रमको सञ्चालन समाजका महासचिव राजेशमणि लामिछानेले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू