बिहीबार, ३ सेप्टेम्बर, २०२६
19:58 | ००:४३

एनआरएनएको राहत अभियान आठौँ दिनमा

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२६

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान आठौं दिन पनि निरन्तर जारी रह्यो ।

एनआरएनएले रसुवा जिल्लाका बाढीपीडितहरूलाई आज पनि राहत सामग्री हस्तान्तरण गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भई हाल नागार्जुन नगरपालिका–२, काठमाडौंस्थित एल्लो गुम्बा र मुस्ताङ गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको दैनिक जीवन सहज बनाउन एनआरएनएका तर्फबाट विभिन्न राहत सामग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा ६ थान कुलर, २ थान डीप फ्रिज, २०० थान सेनेटरी प्याड, ६ प्याकेट डाइपर, ३४० थान चप्पल, ३०० थान ब्ल्याङ्केट, ३०० थान टावेल र ३०० थान सिरानी छन्। उक्त सामग्री गोसाइँकुण्ड गाउँपालिका–१ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङलाई हस्तान्तरण गरिएको हो।

यसअघि हिजो बुधबार पनि आश्रयस्थलमा रहेका परिवारको आवश्यकतालाई ध्यानमा राख्दै ६ थान कुलर र २ थान डीप फ्रिज हस्तान्तरण गरिएको थियो।

आज पनि त्यहाँको थप आवश्यकता अनुसार थप ६ थान कुलर र २ थान डीप फ्रिजसहित अन्य आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो। कुलर तथा डीप फ्रिज एनआरएनएका सह–कोषाध्यक्ष अब्दुल बसिद्ले प्रायोजन गरेका हुन् ।

एनसीसीहरुसँग संवाद

राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूबाट बाढी प्रभावितका लागि सहयोग आउने क्रम जारी छ।

सहयोग रकम संकलन थप प्रभावकारी बनाउन विभिन्न एनसीसी तथा सम्बन्धित पक्षसँग आज थप संवाद गरिएको छ। सो क्रममा बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलनमा भइरहेको पहल तथा प्रगतिबारे जानकारी लिँदै थप सहयोग जुटाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई अनुरोध गरिएको छ।


भोलिदेखि स्वास्थ्य शिविर

बाढी प्रभावित नुवाकोटको बाघटारमा स्वास्थ्य शिविर सञ्चालनका लागि गएको एनआरएनए नेतृत्वको चिकित्सक सम्मिलित टोली प्रतिकुल मौसम र सडकको अवस्थाका कारण साँझ मात्रै नुवाकोट पुगेको छ ।

खराब मौसम तथा सडक अवरुद्ध हुँदा टोलीलाई गन्तव्यसम्म पुग्न आज दिनभर समय लागेपछि भोलिदेखि मात्रै शिविर सञ्चालन हुनेछ ।

बागमती प्रदेश सरकारको समन्वयमा त्रिशुली प्रादेशिक अस्पतालमा हुन लागेको यस शिविरको नेतृत्व ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए आइसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्नेछन् ।

उक्त टोलीमा अध्यक्ष डा हेमराज शर्मा, उपाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ लगायत छन् ।

शिविरमा करिब २५० प्रभावित परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, सरसफाइ सचेतनाका साथै विपद् व्यवस्थापन र प्राथमिक उपचार तालिम प्रदान गरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू