रसुवा बाढीपीडितका लागि एनआरएनएद्वारा ५ करोड सहयोग घोषणा


लण्डन—रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले उक्त निर्णय गरेको हो।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल आपत्कालीन बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले प्राकृतिक विपत्तिको यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर मानवीय सहयोगमा जुट्न आह्वानसमेत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले रसुवा क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धारसँगै दीर्घकालीन राहत तथा पुनःस्थापनाका लागि एनआरएनए सक्रिय रूपमा अघि बढ्ने बताए।
उनले भने, “विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीहरूको सामूहिक सहयोग र ऐक्यबद्धता आवश्यक छ। एनआरएनए तत्काल राहतका साथै आवश्यकताका आधारमा स्वास्थ्य, पुनःस्थापना तथा अन्य मानवीय सहयोगलाई निरन्तरता दिनेछ।”
चिकित्सक टोली परिचालन गरिने
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्याउन चिकित्सकको विशेष टोली परिचालन गर्न आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्राकृतिक विपत्तिका समयमा घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य उपचार अत्यन्त महत्वपूर्ण हुने भएकाले चिकित्सकीय जनशक्ति तथा आवश्यक स्वास्थ्य सामग्रीसहितको टोली परिचालनमा सहयोग गर्ने उनले बताए।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीमार्फत प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने तयारी गरिएको छ।
राहत तथा उद्धारका लागि विभिन्न समिति गठन
राहत तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकले राहत तथा उद्धार उच्चस्तरीय समिति, आर्थिक संकलन समिति तथा स्वयंसेवक परिचालन समिति लगायतका संरचना गठन गर्ने निर्णय गरेको छ।
राहत तथा उद्धार उच्चस्तरीय समितिको संयोजकमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा रहनेछन्। समितिमा बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित एनआरएनए राष्ट्रिय समितिका अध्यक्षहरू तथा संघका सम्पूर्ण पदाधिकारीहरू सहभागी हुने व्यवस्था गरिएको छ।
उच्चस्तरीय समितिले नेपाल सरकार, स्थानीय प्रशासन, प्रभावित क्षेत्रका सम्बन्धित निकाय तथा एनआरएनएका राष्ट्रिय समितिहरूसँग आवश्यक समन्वय गरी राहतको प्राथमिकता निर्धारण गर्नेछ।
त्यसैगरी, कोषाध्यक्ष कृष्ण तिमल्सीनाको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ।
महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (NCC) हरूलाई परिचालन गर्ने तथा उपाध्यक्ष मनोज गोर्खालीको नेतृत्वमा स्वयंसेवक परिचालन र स्थलगत सहयोगका लागि छुट्टै समिति गठन गरिएको छ।
एनआरएनएले भोलि बिहानैदेखि सम्बन्धित सरकारी निकाय तथा स्थानीय सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी राहत, उद्धार तथा सहयोगका लागि स्थलगत रूपमा परिचालित हुने तयारी गरेको छ।
नेपाल सरकारसँग समन्वयका लागि फोकल पर्सन
नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गर्न एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिइएको छ।
अधिकारीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता र राहतको प्राथमिकताअनुसार एनआरएनएबाट उपलब्ध गराइने सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्नेछन्।
विश्वभरका नेपालीलाई सहयोगका लागि आह्वान
बैठकमा एनआरएनएका केन्द्रीय पदाधिकारी, केन्द्रीय सल्लाहकार, विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले रसुवामा देखिएको विपद्को अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार तथा राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग आवश्यक रहेको बताएका छन्।
बैठकमा एनआरएनए यूके, क्यानडा, नेदरल्याण्ड, स्वीजरल्याण्ड, अष्ट्रेलिया, जापान, सेसेल्स, साउदी अरब, यूएई, चीन लगायतका राष्ट्रिय समितिहरूले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
एनआरएनएले विदेशमा रहेका नेपाली समुदाय, एनआरएनएका राष्ट्रिय समितिहरू, सामाजिक संघसंस्था तथा व्यक्तिगत रूपमा सहयोग गर्न इच्छुक सम्पूर्ण नेपालीलाई उद्धार तथा राहत अभियानमा एकताबद्ध भएर सहभागी हुन आह्वान गरेको छ।
एनआरएनएका आगामी कार्यक्रमहरू स्थगित
रसुवा लगायत नेपालका विभिन्न क्षेत्रमा उत्पन्न भएको आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै एनआरएनए ICC ले आगामी केही दिनका लागि आफ्ना सबै बैठक तथा कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।
एनआरएनएले विश्वभरका एनआरएनए राष्ट्रिय समितिहरू, सदस्यहरू तथा नेपाली डायस्पोरालाई यस संकटको समयमा एकजुट भई मातृभूमि नेपालको उद्धार तथा राहत अभियानमा सहयोग र सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।
यसै क्रममा २९ अगस्ट २०२६ मा लण्डनस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने तय भएको बुद्ध मूर्ति स्थापना कार्यक्रम पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
एनआरएनएले यस कठिन घडीमा सबैको समझदारी, सहयोग, ऐक्यबद्धता र मानवीय सहभागिताका लागि हार्दिक आभार व्यक्त गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


