यूकेवासी सापकोटाले बुवाको स्मृतिमा बनाए गीत- प्रतिभा प्रोत्साहन र गाउँ प्रवर्द्धनको प्रयास

लन्डन- गुल्मीको मुसिकोट नगरपालिका–८, वामीमैदानमा जन्मिएर हाल बेलायतको नटिङ्घममा बस्दै आएका यमलाल सापकोटाले आफ्ना स्वर्गीय बुवा ऋषिराम सापकोटाको स्मृतिमा ‘मन परेको’ बोलको तीज गीत निर्माण गरेका छन्।
गत महिना सार्वजनिक भएको कमल बराल र देवी घर्तीको स्वरमा रहेको गीत यतिबेला लोकप्रिय बनिरहेको छ। गणेश अधिकारीको शब्द–संगीत, विनोद बाजुरालीको एरेन्ज तथा एकिन्द्र सारा शङ्करको निर्देशन रहेको गीतको म्यूजिक भिडियो निर्माता सापकोटाकै जन्मस्थान मुसिकोट–८, वामी दाल्कामा छायाङ्कन गरिएको छ।
भिडियोमा वामीमै जन्मिएका चर्चित मोडेल ओबी रायमाझी र अश्विनी शाही मुख्य भूमिकामा छन् भने स्थानीय १४ कलाकारले पनि नृत्य गरेका छन्।
स्वर्गीय बुवाको स्मृतिमा निर्माण गरेको गीतमार्फत् निर्माता सापकोटाले आफ्नो जन्मभूमि वामीलाई देश–विदेशमा चिनाउने र स्थानीय प्रतिभाशाली कलाकारलाई अवसर दिने उद्धेश्य राखेका छन्।
गीतमा गुल्मी तथा आसपासका विभिन्न जिल्लाको भूगोल, मौलिकता र तीज संस्कृतिलाई समेत प्रस्तुत गरिएको छ। बेलायतमा बसेपनि जन्मभूमि र नेपाली कला–संस्कृतिसँग जोडिने प्रयास गरेको सापकोटाले बताए।
गीतलाई माया र साथ दिने दर्शक–श्रोता तथा यसको निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण कलाकार, प्राविधिक, स्थानीय बासिन्दा र शुभेच्छुकप्रति सापकोटाले आभार व्यक्त गरेका छन्।


