बिहीबार, ५ नोभेम्बर, २०२६
06:08 | ११:५३

लन्डनस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम

नेपाली लिङ्क नोभेम्बर ५, २०२६

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बुधबार नेपालको पर्यटन प्रवर्द्धन केन्द्रित कार्यक्रम गरेको छ ।

नेपाल इभिनिङ नाम दिइएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) को नेतृत्वमा लन्डन आएको प्रतिनिधिमण्डल र रास्वपा नेता सांसद मनिषा झा समेत उपस्थित थिए ।

मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन आएका हुन् ।

नेपाल पर्यटन बोर्डको संयोजकत्वमा ३२ नेपाली कम्पनी र होटल सोल्टी आफ्नै तरिकाले मेलामा सहभागी छ ।

एक्सेल लन्डनमा ३ नोभेम्बरदेखि शुरु वर्ल्ड ट्राभल मार्केट ५ नोभेम्बर (बिहीबार) सकिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) ले नेपालले विश्वलाई दिने सबैभन्दा उत्कृष्ट उपहार ध्यान र योगा भएको बताए ।

नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस वर्ष’ का रूपमा घोषणा गर्दै यो अभियान समग्र स्वास्थ्य, आध्यात्मिक उपचार र दिगो पर्यटनका लागि मुलुकलाई विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने १० वर्षे बृहत् रणनीतिको एक हिस्साका रुपमा लिएको छ ।

दूतावासमै गौतम बुद्धको मूर्ति उद्घाटन पछि मञ्च उत्रिएका उनले हाम्रा लागि बुद्ध केवल एक ऐतिहासिक प्रतीक मात्र नभइ उनी शान्ति, करुणा र सहअस्तित्वको सन्देश संसारभर पुरयाउने वास्तविक राजदूत भएको समेत बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश)

नेपाल गौतम बुद्धको भूमि भएको उल्लेख गर्दै मन्त्रपौडेलले बुद्धले नै ध्यानको सुरुवात गरेको बताए ।

बेग्लै प्रसंगमा मन्त्री पौडेलले डब्लुटिएममा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, सांस्कृतिक आदानप्रदान, पर्यटन क्षेत्रमा लगानी र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा विभिन्न देशका पर्यटन मन्त्रीहरुसंग छलफल भएको जनाए ।

मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक र दिगो पर्यटनका सम्भावना उजागर गरिएको उनको भनाइ छ ।

कार्यक्रममा विशेष अतिथी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेपालको संसदमा बेलायत मामिला हेर्ने समितिको नेतृत्व गरिरहेका मनिष झाले आफूले बेलायतबाट कूटनीतिक सम्बन्ध र बेलायती संसदीय अभ्यासबारे धेरै सिकिरहेको बताए । ‘सार्वजनिक लेखा समिति’ मा समेत रहेका उनले बेलायती सांसदहरूले कर प्रणाली, सार्वजनिक लेखा र करदाताको रकम व्यवस्थापन कसरी गर्छन् भन्नेबारे पनि सिकिरहेको उनको भनाइ थियो ।

भूतपूर्व ब्रिटिश गोर्खाहरुको न्यायका लागि सबैले आवाज उठाउन र नेपालको पर्यटन उद्योगलाई ब्रान्डिंग गर्नुपर्नेमा समेत झाले जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तले गत वर्ष सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल भित्रिएकामध्ये बेलायतबाट ५८ हजार ६ सय ८४ जना रहेको जनाए ।

पन्तले एक प्रिजेन्टेसन दिंदै नेपालको प्राकृतिक सौन्दर्य, साहसिक, धार्मिक तथा आध्यात्मिक, ऐतिहासिक तथा सांस्कृतिक, वन्यजन्तु तथा इको–टुरिजम जस्ता प्रमुख पर्यटकीय विशेषताबारे अवगत गराए ।

हिमाल आरोहण, ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, रयाफ्टिङ, क्यानोइङ र माउन्टेन बाइकिङ नेपालका प्रमुख साहसिक पर्यटकीय गतिविधि रहेको उनले बताए ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, स्वयम्भूनाथ, बौद्धनाथ आदि नेपालका प्रमुख धार्मिक तथा आध्यात्मिक गन्तव्य रहेका पनि उनले सुनाए ।

काठमाडौं, भक्तपुर र ललितपुरका दरबार क्षेत्र, मन्दिर, गुम्बा, जात्रा, कला, वास्तुकला र परम्परागत संस्कृतिले नेपाललाई सांस्कृतिक पर्यटनको विशिष्ट गन्तव्य बनाएका उनको भनाइ छ ।

मौलिक खाना, उच्चस्तरका होटल रेष्टुरेन्ट, हवाइ यातायात सुविधा, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी, वन्यजन्तु अवलोकन, पक्षी निरीक्षण आदि नेपालका आकर्षण भएको पनि वरिष्ठ निर्देशक पन्तले जनाए ।

नेपाल र बेलायतका पर्यटन व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले भौगोलिक आकारका हिसाबले नेपाल तुलनात्मक रूपमा सानो मुलुक भएपनि यहाँ भू–दृश्य, संस्कृति, परम्परा र अनुभवहरूको असाधारण विविधता पाइने बताए ।

नेपालले भव्य हिमालय र विश्वप्रसिद्ध सगरमाथादेखि पोखराका शान्त तालहरूसम्म, अनि चितवन र बर्दियाका जंगलदेखि भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको अनुभव दिलाउने उल्लेख गरे ।

‘हाम्रा प्राचीन मन्दिरहरू, ऐतिहासिक सहरहरू, जीवन्त सांस्कृतिक परम्पराहरू, विविध जातीय समुदायहरू, चाडपर्वहरू र आतिथ्य सत्कारले पर्यटक तथा अन्वेषकलगायत सबैलाई आकर्षित गर्छन्’, दुवाडीले भने, ‘नेपाल पदयात्रा, पर्वतारोहण र साहसिक कार्यको भूमि मानिन्छ । यो आध्यात्मिक चिन्तन, ध्यान, योग, स्वास्थ्य तथा कल्याण, वन्यजन्तु, सम्पदा र सांस्कृतिक अन्वेषणका लागि पनि एक आकर्षक गन्तव्य हो ।’

प्रतिष्पर्धी, लचिलो, नवप्रवर्तन, जिम्मेवार र दीर्घकालीन समृद्धि प्रदान गर्न सक्षम पर्यटन क्षेत्र निर्माण गर्ने सरकारको स्पष्ट दिशा रहेको पनि उनले बताए ।

दूतावासका द्वितीय सचिव संजोग राईले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल पर्यटन सम्बन्धी एक वृत्तचित्र समेत देखाइएको थियो ।

अन्त्यमा सहभागी ‘होली काउ’ को नेपाली खानामा रमाएका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू