शनिबार, १५ अगस्ट, २०२६
13:32 | १८:१७

जीतको प्रेरणादायी यात्रा- सुकुम्बासी बस्तीबाट पाँचतारे होटल हुंदै बेलायतमा व्यवसायसम्म

नेपाली लिङ्क अगस्ट १५, २०२६

लन्डन- कुनै समय उनीसँग विद्यालय जानेसम्म अवसर थिएन । न बस्नका लागि स्थायी घर थियो न त भविष्यको कुनै निश्चित बाटो नै। चितवनको भरतपुर–१६, शरणपुरको सुकुम्बासी बस्तीमा गरिबीबीच हुर्किएका जीत सुनारका लागि बाल्यकाल नै संघर्षको अर्को नाम थियो। बिरामी आमा, आर्थिक अभाव र बुबा अर्कै परिवारसँग बस्ने भएकाले उनले पढाइलाई निरन्तरता दिन सकेनन्। तर अभावले उनको सपना मार्न सकेन।

करिब १४ वर्षको उमेरमा जीत कामको खोजीमा भारतको बम्बई पुगे। पढाइ थिएन, पैसा थिएन। काम खोज्दै होटलमा पुगेपछि भाँडा माझ्ने र किचन हेल्परका रूपमा काम सुरु गरे। भाँडा माझ्दै उनले भान्सामा खाना पकाउने कला सिक्न थाले। काम सिक्ने भोक यति ठूलो थियो कि पारिश्रमिक नपाए पनि ओभरटाइम काम गरेर उनी सिक्न तयार हुन्थे।

हरेक पटक अरूले हेप्दा जीतको मनमा एउटै अठोट जन्मियो— काम सिकेर एक दिन सेफ बन्ने।

त्यही अठोटले करिब छ महिनामै उनलाई सेफको जिम्मेवारी सम्हाल्ने अवसर दिलायो। भारतमा रहँदा उनले चाइनिज र इन्डियन खानाका परिकार बनाउन सिके। पछि नेपाल फर्केर काठमाडौंका याक एन्ड यती र अन्नपूर्ण जस्ता प्रतिष्ठित होटलमा काम गरे। नयाँ कुरा सिक्ने चाहनाले उनलाई अरबी, इटालियन, फ्रेन्च कुइजिनदेखि कोल्ड किचन, सालाद र डिजर्ट बनाउने कलासम्म पु¥यायो।

सन् १९९५ तिर २६ वर्षका दाइको मोटरसाइकल दुर्घटनामा निधन भएपछि जीतको जीवनमा ठूलो बज्रपात भयो। त्यसबेला उनी स्वयं करिब २४–२५ वर्षका थिए। केही समय नेपाल फर्किए पनि आर्थिक समस्या फेरि अगाडि आयो र उनी कामको खोजीमा काठमाडौं फर्किए।

सन् १९९८ मा कतार पुगे। सेफ दि पार्टीको पदमा जाने इच्छा पूरा नभए पनि कमी सेफको तहबाट काम सुरु गरे। पाँच तारे अल्दाना क्लबको भान्सामा पाँच–छ हजार जनाको पार्टीका लागि खाना तयार गर्थे । कहिलेकाहीँ ३८ घण्टासम्म लगातार काम गरे। मेहनतकै बलमा त्यहाँ पनि महत्वपूर्ण सेफको जिम्मेवारीसम्म पुगे।

सन् २००२ मा दुबई पुगे जीत । कोरल देइरा नामक पाँचतारे होटलमा सहायक हेड सेफका रूपमा काम सुरु गरे। त्यहाँ करिब ७० जना स्टाफ रहेको किचनको जिम्मेवारी सम्हाल्ने अवसर पाए। एक्जुकेटिभ सेफ दुई महिनाका लागि बेलायत गएपछि उनले किचनको नेतृत्व गरे।

वर्षौँदेखि बिदा नपाएका कर्मचारीका लागि बिदाको व्यवस्था मिलाए। सेफ बन्न चाहने कर्मचारीलाई दुई महिनाको निःशुल्क तालिम दिए। कर्मचारीका लागि बनाइने खानाको गुणस्तर सुधार गरे। उनको व्यवस्थापनमा खानाको लागत ३७ प्रतिशतबाट घटेर २३ प्रतिशतमा आयो।

तर जीतको नेतृत्व सबैलाई सहज भएन। पुराना कर्मचारीबाट विरोध भयो। आफूले अघि बढाएका मानिसलाई मात्र प्राथमिकता दिएको आरोप पनि लाग्यो। अंग्रेजी राम्रोसँग बोल्न नसक्दा व्यवस्थापनसमक्ष आफ्नो कुरा राख्न कठिन भयो। तर आफूले तालिम दिएका कर्मचारीले राम्रो काम गरेपछि व्यवस्थापन अन्ततः उनकै पक्षमा उभियो।

दुबईमा रहंदा जीतले अष्ट्रेलिया र क्यानडा जाने प्रयास पनि गरिरहेका थिए। तर जीवनले उनलाई अर्को बाटो देखायो।
लन्डनबाट आएका एक रिक्रुटमेन्ट प्रतिनिधिले उनले बनाएको खाना खाए। खाना मन परेपछि बेलायतमा काम गर्ने प्रस्ताव गरे।

सन् २००४ मा बेलायत आएका जीत म्यानचेस्टरको ओल्डहामस्थित आशिकी भारतीय रेस्टुरेन्टमा सेफका रूपमा काम गर्न थाले। सन् २००५ मा उत्कृष्ट सेफका रूपमा करी अवार्ड प्राप्त गरे। त्यसै वर्ष नटिङहम सरेर इन्डियन नाइट रेस्टुरेन्टमा काम गरे। त्यहाँ पाकिस्तानी व्यवस्थापनको रेष्टुरेन्टमा उनले सेफको जिम्मेवारी सम्हालेको केही महिनाभित्रै रेष्टुरेन्टको व्यापार निकै बढ्यो।

परिवारलाई बेलायत ल्याउने जीतको प्रयास भने सहज भएन। छोराहरुको भिसा अस्वीकृत भएपछि सन् २००६ मा श्रीमती मात्रै बेलायत आइन्। उनका तीन छोरामध्ये अहिले एक जापानमा र दुई जना पोर्चुगलमा छन्। छोराहरूलाई आफूले चाहेजस्तो बेलायतमा सँगै राख्न नसकेको पीडा अहिले पनि उनीसंग छ।

जीतले सन् २००६ मै नटिङहममा रेष्टुरेन्ट व्यवसाय सुरु गरेका थिए। तर त्यतिबेला आफै वर्क पर्मिटमा रहेकाले त्यो व्यवसाय बन्द गर्नर्ने अवस्था भयो । सन् २००९ मा स्बेलायताके पीआर पाएपछि उनले पुनः आफ्नै व्यवसायसुरु गरे। तर सन् २०११ मा आमाको निधनले उनलाई फेरि भावनात्मक रूपमा कमजोर बनायो।

सन् २०१३ मा नटिङहमको लङ ईटनमा ‘माउन्ट गोर्खा भिलेज’ सुरु गरे। साझेदारीमा समस्या आएपछि दुई वर्ष चलाएर अर्को नेपालीलाई दिए। त्यसपछि उनले विभिन्न केयर होमहरुमा हेड सेफको जिम्मेवारी सम्हाले र पाँच–छ वटा केयर होमका किचनको हेड सेफ बने।

सन् २०१८ मा एउटा पब लिएर ‘गोर्खा करी टू’ सुरु गरे। तर पारिवारिक कारणले नेपाल जानुपर्दा व्यवसाय प्रभावित भयो।

जीतले सन् २०२२ मा डर्बीशायरको अल्फ्रेटन–टिब्सेल क्षेत्रमा फेरि ‘माउन्ट गोर्खा भिलेज’ सुरु गरे। अहिले त्यहाँ पब र रेस्टुरेन्टमार्फत भारतीय तथा नेपाली परिकार प्रस्तुत गर्दै आएका छन्। यसै वर्ष नजिकै सटनमा श्रीमतीको नाममा ‘मञ्जु फास्ट फुड’ पनि सुरु गरेका छन्। त्यहाँ नेपाली मःम, चाउमिनदेखि बर्गर, स्यान्डविच, फ्राइड चिकन, ग्रिलका परिकारदेखि फिस एन्ड चिप्ससम्मको विविधता पाइन्छ।

बेलायतमा दुवै व्यवसायमा गरी उनले एक दर्जनभन्दा बढी मानिसलाई रोजगारी दिएका छन्।

जीतको पाककलाको यात्राले सन् २०२४ र २०२५ मा ब्रिटिश करी अवार्ड तथा ब्रिटिश कुकरी अवार्ड लगायतका सम्मान समेत दिलाएको छ। उनी ‘द क्राफ्ट गिल्ड अफ सेफ्स’ का सदस्य हुन्। नटिङहमको न्यू कलेजबाट प्रोफेसनल कुकरीमा डिप्लोमा तथा एनबिक्यू लेभल तीन योग्यता पनि हासिल गरेका छन्। सन् २००८ देखि २०१० सम्मको यो अध्ययनले उनको व्यवसायिक यात्रामा थप अवसर खुलाएको अनको अनुभव छ।

तर जीतको सपना यहि व्यवसायमा मात्र सीमित छैन।

अब उनी चांडै नटिङहम सिटी सेन्टरमै अझ ठूलो रेस्टुरेन्ट जीत किचन नेप्लिज तपासा खोल्ने तयारीमा छन्। उनको लक्ष्य नेपाली खानालाई नेपाली समुदायभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु हो। गुरुङ, तामाङ, नेवारी, हिमाली र थारूसहितका नेपालभित्रका विभिन्न समुदायका मौलिक परिकारलाई विश्वमञ्चमा चिनाउने उनको योजना छ। स्वस्थ खाना, चिनीविहीन परिकार तथा थोरै मात्रामा धेरै पोषण दिने खानालाई पनि उनले आफ्नो नयाँ योजनामा समेट्न चाहेका छन्।

‘अरू देशका खानाका परिकार संसारभर प्रसिद्ध छन्। हाम्रो नेपाली खानाको पनि आफ्नै विविधता र पहिचान छ। मैले जानेको यही हो, त्यसैले नेपाली खानालाई पनि विश्वमा चिनाउन चाहन्छु,’ उनी भन्छन्।

जीतको सफलताको अर्को पाटो सामाजिक सेवा पनि हो। गरिब, अनाथ, आर्थिक रूपमा कमजोर तथा उपचार वा पढाइको खर्च धान्न नसक्नेहरूलाई आफ्नो खर्च कटाएर सहयोग गर्दै आएका छन्। उपचार खर्च, घरको समस्या वा पढाइका लागि आवश्यक परेका व्यक्तिलाई उनी सकेको सहयोग गर्छन्। तर त्यसको प्रचार गर्न भने रुचाउँदैनन्।

कहिल्यै विद्यालयको कक्षाकोठामा पढ्न नपाएका जीत आज आफ्नो अनुभव, मेहनत र पछि हासिल गरेको औपचारिक शिक्षाका बलमा पाककला क्षेत्रमा स्थापित छन्। भाँडा माझ्ने कामबाट सुरु भएको यात्रा पाँचतारे होटल हुँदै अवार्ड विनिङ सेफ र व्यवसायीसम्म पुगेको छ।

उनको जीवनको सूत्र सरल छ—’कोही पनि मान्छे चाह्यो भने, लगन र कोसिस छ भने, मेहनत र हिम्मतले जस्तोसुकै अवस्थाबाट जहाँ पनि पुग्न सक्छ। हरेक मान्छेले हार मान्नु हुँदैन। ठक्करले नै सिकाउँछ।’

कुनै दिन ‘भोको पेट र खाली जेब’ लिएर १४ वर्षको कलिलो उमेरमै भा)डा माझ्न भारत पुगेका जीत आज बेलायतमा सफल रेष्टुरेन्ट व्यवसायीका रुपमा नेपाली स्वादलाई विश्वमञ्चमा पु¥याउने आफ्नो सपना बोकेर अघि बढिरहेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू