शनिबार, ८ अगस्ट, २०२६
11:07 | १५:५२

बेलायतको नेपाली पत्रकारिता: पद र प्रतिष्ठाप्रति आकर्षण, घट्दो विश्वसनीयता

नेपाली लिङ्क अगस्ट ८, २०२६

लेखक नरेन्द्र बस्नेत

लन्डन । बेलायतमा नेपाली समुदायको विस्तारसँगै नेपाली पत्रकारिताको आवश्यकता र प्रभाव पनि बढ्दै गएको छ। करिब तीन लाख नेपालीको बसोवास रहेको भनिने बेलायतमा समुदायका गतिविधि इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डसम्म फैलिएका छन्। नेपाली कला, संस्कृति, परम्परा, सामाजिक अभियान, व्यवसाय, राजनीति र सामुदायिक गतिविधिका कारण यहाँ समाचारका विषयको कमी छैन् । कतिपय नेपाली कार्यक्रमले त साँच्चिकै ‘मिनी नेपाल’ कै झल्को दिने गर्छन्।

तर समाचारका विषय धेरै हुनु मात्र पत्रकारिताको सफलता होइन। ती विषयलाई कति जिम्मेवार, निष्पक्ष, तथ्यपरक र विश्वसनीय ढंगले समाजसम्म पुर्‍याइन्छ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। यही कारण बेलायतको नेपाली समुदायमा पत्रकारिता गर्नु अवसर मात्र होइन, ठूलो जिम्मेवारी पनि हो ।

बेलायतको नेपाली समुदाय आर्थिक, सामाजिक र पेशागत हिसाबले विविध छ । स्थापित व्यवसायी, पेशाकर्मी र लामो समयदेखि यहाँ बसोवास गर्दै आएका परिवारसँगै विद्यार्थी, नयाँ आप्रवासी र जीवनयापनका लागि संघर्ष गरिरहेका नेपालीहरू पनि छन्। विशेषगरी विद्यार्थीका रूपमा बेलायत आउने कतिपय युवाले नेपालमा देखाइएको सपना र यहाँको वास्तविकताबीच ठूलो अन्तर भोग्नुपरेको अनुभव सुनाउने गरेका छन्।

उच्च शुल्क, ऋण, रोजगारीको अभाव, महँगो बसोवास र नयाँ समाजमा आफूलाई स्थापित गर्नुपर्ने चुनौतीले कतिपयलाई गम्भीर आर्थिक तथा मानसिक दबाबमा पार्न सक्छ। यस्ता विषयमा पत्रकारिताको भूमिका अत्यन्तै संवेदनशील हुन्छ। पत्रकारले समस्यालाई सनसनी बनाएर प्रस्तुत गर्ने होइन, त्यसको कारण, जिम्मेवार निकाय, प्रभावित व्यक्तिको अवस्था र सम्भावित समाधानको बाटोसमेत खोज्ने प्रयास गर्नुपर्छ।

यही सन्दर्भमा बेलायतको नेपाली पत्रकारितामा अर्को गम्भीर प्रश्न पनि उठ्दै आएको छ। पत्रकारिताभन्दा पद र प्रतिष्ठाप्रतिको आकर्षण बढेको र पत्रकार बन्न चाहने वा पत्रकारितासँग जोडिएका केही व्यक्तिमा समाचार, अनुसन्धान, जनसरोकार र पेशागत विकासभन्दा संस्थाको पदमा पुग्ने तथा लामो समयसम्म त्यही पद वा नेतृत्वको वरिपरि रहिरहने प्रवृत्ति देखिएको भन्दै समुदायभित्र आलोचना हुने गरेको छ।

विशेषगरी नेपाल पत्रकार महासंघ बेलायत शाखाको सन्दर्भमा नेतृत्व, पद र संस्थागत प्रभावलाई लिएर पटक पटक प्रश्न उठ्ने गरेका छन्। एउटै व्यक्ति वा सीमित समूह दशकौंसम्म नेतृत्व र पदको वरिपरि केन्द्रित भइरहने अवस्थाले संस्थामा नयाँ नेतृत्व विकास, पुस्तान्तरण र निष्पक्षताको प्रश्न उठाएको छ। कुनै पनि पेशागत संस्था केही व्यक्तिको स्थायी प्रभावक्षेत्र बन्न थालेपछि त्यसको असर व्यक्तिमा मात्र सीमित हुँदैन, संस्थाको सार्वजनिक छविमै पर्न सक्छ। यहाँ लेखिने पत्रकारितालाई भन्दा देखिने पत्रकारितालाई अंगाल्ने प्रवृति बढेका कारण पत्रकारितामा इमान्दारीता र विश्वसनीयताको कमी भएको हो ।

पत्रकारिता गर्ने व्यक्तिका लागि पद साधन हुन सक्छ, लक्ष्य होइन। पत्रकार महासंघजस्तो संस्था पत्रकारको अधिकार, पेशागत सुरक्षा, मर्यादा, क्षमता विकास र पत्रकारिताको विश्वसनीयता जोगाउने थलो बन्नुपर्ने हो। तर यदि ऊर्जा पत्रकारिताको गुणस्तर सुधार्नुभन्दा पद जोगाउन, नेतृत्वमा टिकिरहन, गुट निर्माण गर्न वा अर्को व्यक्तिलाई रोक्नमै खर्च भयो भने त्यसले संस्थाको मूल उद्देश्य नै ओझेल पार्छ।

बेलायत नेपाली पत्रकारिताको हिसाबले अनुभव सम्पन्न ठाउँ पनि हो। यहाँ लामो समयदेखि पत्रकारितामा सक्रिय अग्रज र वरिष्ठ पत्रकारहरूको उल्लेखनीय उपस्थिति छ। उनीहरूको अनुभव नयाँ पुस्ताका लागि ठूलो सम्पत्ति बन्न सक्छ। तर विडम्बना के छ भने अनुभवी पत्रकारहरू किनारामा बसेर हेर्नुपर्ने र पत्रकारिताको नाममा परिचयपत्र वा ‘बिल्ला’ भिरेर सामान्य सामग्रीसमेत आफ्नो मौलिक समाचारजस्तो प्रस्तुत गर्ने प्रवृत्तिले स्थान पाउने अवस्था बनेको आरोप पनि बेलाबेला सुनिन्छ।

अर्को सञ्चारमाध्यमको समाचार जस्ताको तस्तै ‘कपी–पेस्ट’ गर्ने, समाचार एजेन्सीबाट आएको सामग्रीमा समेत आफ्नो बाइलाइन राख्ने वा फेसबुक स्टाटसलाई पर्याप्त तथ्य परीक्षणबिना समाचारको आधार बनाउने अभ्यासले पत्रकारिताको विश्वसनीयता बढाउँदैन। यसले वास्तविक रिपोर्टिङ, स्रोतसँग संवाद, अनुसन्धान र स्थलगत पत्रकारिता गर्नेहरूलाई उल्टै निरुत्साहित गर्छ।

यही कारण बेलायतको नेपाली समुदायमा एउटा कटु टिप्पणीसमेत सुनिन्छ, यहाँ कतिपय अवस्थामा ‘खोज पत्रकारिता’ भन्दा ‘रोज पत्रकारिता’ हावी भएको छ। अर्थात् सार्वजनिक हितका विषय खोजेर ल्याउनेभन्दा आफूलाई अनुकूल विषय रोज्ने, नजिकका व्यक्तिलाई बचाउने र असहमत व्यक्तिलाई समाचारमार्फत दबाबमा पार्ने प्रवृत्तिले ठाउँ पाएको आरोप छ।

पत्रकारितालाई आफ्नो स्वार्थ पूरा गर्ने, सम्बन्ध बनाउने, पद प्राप्त गर्ने वा विरोधीलाई तह लगाउने माध्यम बनाइयो भने त्यो पत्रकारिता रहँदैन। त्यो व्यक्तिगत शक्ति प्रयोग गर्ने साधन बन्छ। पत्रकारको व्यक्तिगत विचार, सम्बन्ध वा असहमति हुन सक्छ, तर समाचार लेख्दा तथ्य, प्रमाण, सन्तुलन र सार्वजनिक हित सबैभन्दा माथि रहनुपर्छ। पत्रकारिताको शक्ति व्यक्तिगत बदला वा दबाबको औजार बन्नु हुँदैन।

नेपाली समाजमा प्रचलित उखान छ, ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै।’ यसलाई कसैलाई व्यक्तिगत रूपमा अपमानित गर्नभन्दा पनि एउटा प्रवृत्तिको प्रतीकका रूपमा बुझ्न सकिन्छ। पत्रकारितामा वर्षको संख्या मात्रले व्यक्तिको पेशागत स्तर निर्धारण गर्दैन। त्यसैगरी १२ वर्ष एउटै संस्थाको नेतृत्व वा नेतृत्वको प्रभाव वरिपरि रहनु आफैंमा उपलब्धि होइन।

त्यो अवधिमा संस्था कति संस्थागत बन्यो, नयाँ पुस्तालाई कति अवसर दिइयो, नेतृत्वमा पुस्तान्तरण भयो कि भएन, पत्रकारको पेशागत क्षमता कति उकासियो, आचारसंहिता कति प्रभावकारी रूपमा लागू भयो र संस्थाप्रतिको सार्वजनिक विश्वास बढ्यो कि घट्यो भन्ने विषयले नेतृत्वको वास्तविक मूल्यांकन गर्नुपर्छ।

कुनै पनि पत्रकार संस्था व्यक्तिको स्थायी सम्पत्ति होइन। संस्था प्रणाली, पारदर्शिता, उत्तरदायित्व र सामूहिक नेतृत्वमा चल्नुपर्छ। वरिष्ठ पत्रकारको परिचय ओढेर मात्र वरिष्ठता प्रमाणित हुँदैन। वरिष्ठता आचरण, काम, निष्पक्षता, स्रोतप्रतिको इमान्दारिता र नयाँ पुस्तालाई बाटो देखाउने क्षमताबाट स्थापित हुन्छ।

यदि पत्रकार स्वयं नैतिकताको पालना गर्दैन, 
अर्काको सामग्रीलाई आफ्नो बनाएर प्रस्तुत गर्छ, व्यक्तिगत सम्बन्धका आधारमा समाचारको भाषा परिवर्तन गर्छ वा संस्थागत पदका लागि पेशागत मूल्यसँग सम्झौता गर्छ भने उसले अरुसँग नैतिकताको अपेक्षा गर्ने आधार कमजोर हुन्छ।

यसको सबैभन्दा ठूलो क्षति सच्चा पत्रकारिता गर्नेहरूलाई हुन्छ। फिल्डमा पुगेर समाचार खोज्ने, तथ्य जाँच्ने, दुई वा बढी पक्षसँग कुरा गर्ने, प्रमाण जुटाउने र समाजका कठिन विषय उठाउने पत्रकारहरू पनि केही व्यक्तिको व्यवहारका कारण एउटै नजरले हेरिन सक्छन्। केहीको कमजोरीले सम्पूर्ण पेशाको प्रतिष्ठा धुमिल हुनु दुःखद पक्ष हो।

पत्रकारितामा विश्वास गुमेपछि त्यसको क्षति एउटा व्यक्तिलाई होइन, सम्पूर्ण समुदायलाई हुन्छ। किनकि संकट, विवाद वा सार्वजनिक सरोकारको समयमा नागरिकले विश्वास गर्ने पहिलो आधारमध्ये सञ्चारमाध्यम पनि एक हो। यही कारण नेपाल पत्रकार महासंघ बेलायत शाखालगायत सबै पत्रकारसम्बद्ध संस्थाले अब एउटा स्पष्ट प्रश्नको सामना गर्नुपर्ने देखिन्छ, संस्था पत्रकारका लागि हो कि पदका लागि?

पदलोलुपता, गुटगत स्वार्थ र दीर्घकालीन व्यक्तिगत नियन्त्रणभन्दा माथि उठेर नेतृत्वमा नियमित पुस्तान्तरण, पारदर्शिता, जवाफदेहिता र वास्तविक पत्रकारितालाई प्राथमिकता दिन सके मात्र संस्थाप्रतिको कमजोर बनेको विश्वास पुनःस्थापित हुन सक्छ। महासंघको जिम्मेवारी चुनाव गर्ने र पद बाँड्नेमा मात्र सीमित हुनु हुँदैन।

पत्रकारहरूको क्षमता अभिवृद्धि, आचारसंहिता, तथ्य परीक्षण, बेलायतको सञ्चार कानून, मानहानि, गोपनीयता, स्रोत संरक्षण र डिजिटल पत्रकारिताबारे प्रशिक्षण र बहसलाई पनि प्राथमिकतामा राख्नुपर्छ।

नयाँ पुस्तालाई ठाउँ दिनुपर्ने, अनुभवी पत्रकारको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने र नेतृत्व व्यक्ति केन्द्रित होइन, संस्था केन्द्रित हुनुपर्ने आवश्यकता झन् बढेको छ।

पत्रकारितालाई राज्यको चौथो अंग भनिन्छ। तर चौथो अंग हुनुको अर्थ अरुलाई मात्र प्रश्न गर्ने अधिकार हुनु होइन। पत्रकार स्वयं पनि प्रश्नको घेरामा आउन तयार हुनुपर्छ। अरुसँग पारदर्शिता माग्ने पत्रकार आफैं पारदर्शी हुनुपर्छ, अरुको नैतिकता जाँच्ने पत्रकारले आफ्नै नैतिकता जोगाउनुपर्छ र अरुलाई पदलोलुप भन्ने पत्रकार स्वयं पदको मोहबाट मुक्त हुनुपर्छ।

पत्रकारले आफ्नो पद होइन, आफ्नो काम बोल्ने वातावरण बनाउनुपर्छ। किनकि अन्ततः इतिहासले कसले कति वर्ष कुर्सी समात्यो भनेर होइन, कसले पत्रकारिताको मर्यादा कति जोगायो भनेर मूल्यांकन गर्नेछ।

बेलायतको नेपाली पत्रकारिताको भविष्य पद, परिचयपत्र, सामाजिक सञ्जालको लोकप्रियता वा ‘वरिष्ठ’ उपाधिले निर्धारण गर्ने छैन। यसको भविष्य विश्वसनीयता, तथ्यपरकता, निष्पक्षता, पेशागत इमान्दारिता र सामाजिक उत्तरदायित्वले निर्धारण गर्नेछ। अन्ततः प्रश्न एउटै छ, पदभन्दा ठूलो पत्रकारिता हो, कि पत्रकारिताभन्दा ठूलो पद?

(लेखक नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू