गुरुङ चलचित्र ‘मार्कली’ को लन्डनमा विशेष प्रदर्शन हुने


लन्डन- तमु समाज यूकेको आयोजनामा गुरुङ भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बहुप्रतिक्षित गुरुङ चलचित्र ‘मार्कली’ को विशेष प्रदर्शन हुने भएको छ।
६ सेप्टेम्बर २०२६, आइतबार दिउँसो १:०० बजे तमु समाज यूकेको समाज घर (नेपाली कम्युनिटी सेन्टर, बार्हम पार्क) मा फिल्म प्रदर्शन हुन लागेको हो।
उक्त चलचित्रले गुरुङ समुदायको मौलिक जीवनशैली, पारिवारिक सम्बन्ध, सामाजिक मूल्य, परम्परा र सांस्कृतिक पहिचानलाई अत्यन्त भावपूर्ण र सशक्त ढंगले प्रस्तुत गरेको छ।
पाइला फिल्म प्रा.लि. को ब्यानरमा निर्माण भएको यस चलचित्रका लेखक तथा निर्देशक माओत्से तुङ गुरुङ र बलबहादुर गुरुङ हुन् भने सह–निर्देशकमा अर्जुन गुरुङ छन्।
चलचित्रमा बलबहादुर गुरुङ, अर्चना गुरुङ, गणेशमान घले, आश्मी गुरुङ र बबिता गुरुङ लगायत कलाकारहरूको सशक्त अभिनय छ।
समाजले सम्पूर्ण गुरुङ तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई परिवार, साथीभाइ र आफन्तहरूसहित उपस्थित भई चलचित्रको सफल प्रदर्शनमा साथ दिन तथा आफ्नै भाषा, संस्कार, संस्कृति र पहिचानलाई अझ सशक्त बनाउन अनुरोध गरेको छ।
तमु समाज यूके महासचिव सुब घलेले ‘मार्कली’ हेरेर आफ्नै भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्न र नयाँ पुस्तालाई आफ्नो मौलिक सम्पदासँग जोड्न आग्रह गरेका छन् ।
‘गुरुङ भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस चलचित्रले महत्त्वपूर्ण योगदान पुर्याउने हाम्रो विश्वास छ’-उनले भने।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


