बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या सम्पन्न

लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाको आयोजनामा जुन २७ का दिन ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भर्चुअल जुम माध्यमबाट भएको छ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा बेलायतका करिब २ दर्जन मुक्तककारहरूले आफ्ना समसामयिक र खारिएका रचनाहरू वाचन गरेका थिए।
नेपाल मुक्तक प्रतिष्ठान यूकेका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षता र सचिव गङ्गा भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिमा केसी ‘प्रवासी’ ले सबै अतिथि र सहभागीहरूलाई स्वागत मन्तव्य र प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठले कार्यक्रमको निरन्तरता र औचित्यबारे आफ्नो विचार व्यक्त गरेका थिए।
प्रमुख अतिथि कोनेले शुभकामना मन्तव्य र उद्घाटन मुक्तक वाचन गरी कार्यक्रम सुरु गरेका थिए। यसमा गजलकार बिदेहमणि उपाध्याय, मुक्तककार संजीता देउजा, सल्लाहकारत्रय डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र बिनोद अधिकारी पनि उपस्थित थिए।
कार्यक्रममा रामकाजी कोने, कुमार केसी, नृपेश उप्रेती, बिनोद अधिकारी, प्रतिमा केसी ‘प्रवासी’, जीत बुढाथोकी छन्त्याल, अहिल्या कुँवर, मोहन आचार्य ‘जलद’, डा. रुपक श्रेष्ठ, राज श्रेष्ठ, सुमलकुमार गुरुङ, संजिता देउजा, गङ्गा भण्डारी, रबिन्द्रलाल जोशी र माया गुरुङले प्रत्येकले ३–३ वटा प्रेमिल, रसिक र समसामयिक विषयमा आधारित मुक्तक प्रस्तुत गरेका थिए।
केन्द्रीय अध्यक्ष रामकाजी कोनेले प्रस्तुत गरिएका मुक्तकबारे समीक्षात्मक टिप्पणी गर्दै सबै रचनाहरू स्तरीय र मुक्तकको रचनाविधान अनुरूप रहेको बताए।
उनले बेलायत शाखाले मुक्तक विधाको बिकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सबैलाई धन्यवाद दिए।
कार्यक्रममा हालै प्रकाशित दुई मुक्तक कृतिहरू ‘पोख्तक’ र ‘चौसुल’का लागि डा. रुपक श्रेष्ठलाई र युद्ध उपन्यास ‘कर्मबीर’का लागि सुमलकुमार गुरुङलाई बधाई ज्ञापन गरिएको थियो।
साथै, अनेसास युकेका अध्यक्ष तथा मुक्तक प्रतिष्ठान युकेका कोषाध्यक्ष राज श्रेष्ठ अन्तर्राष्ट्रिय साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकोमा सबैले उनलाई बधाई दिएका थिए।
कार्यक्रमको अन्तमा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले सबै अतिथि र सहभागीहरूलाई धन्यवाद दिएर कार्यक्रम निकै भव्य र सृजनाहरू स्तरीय रहेको बताए।


