शनिबार, २० जुन, २०२६
14:49 | १९:३४

खेलकुदमार्फत एकबद्ध हुँदै वेल्सका युवा, मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रानको बराबरी

नेपाली लिङ्क जुन २०, २०२६

कुम्ब्रान, वेल्स । वेल्समा बसोबास गर्ने नेपाली युवाहरूलाई खेलकुदका माध्यमबाट एकताबद्ध गर्ने र उनीहरूबीच सहकार्य बढाउने उद्देश्यले कुम्ब्रानमा आयोजित एक मैत्रीपूर्ण फुटबल खेलमा कार्डिफ नेपाली फुटबल टिम र कुम्ब्रान नेपाली फुटबल टिमबीचको प्रतिस्पर्धा १–१ को बराबरीमा सकिएको छ।

कुम्ब्रानस्थित लान्टार्नाम कम्युनिटी प्राइमरी स्कुल मैदानमा साँझ ७ बजे भएको उक्त नाइन-ए-साइड फुटबल खेलमा दुवै टिमले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए।

गत वर्षदेखि सुरु भएको यो मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकहरूले जानकारी दिएका छन्।

खेल अवलोकन गर्न कार्डिफ र कुम्ब्रान दुवै क्षेत्रबाट दर्शकहरूको उल्लेख्य उपस्थिति थियो। दर्शकहरूले खेलभरि दुवै टिमलाई जोडतोडले हौसला प्रदान गरेका थिए।

खेलाडीहरूको सहभागिता र खेल भावनाको कदर गर्दै युवाहरूको उत्साह बढाउन डा. विकास रानाभाट र उनकी धर्मपत्नी रेश्मा कुँवर रानाभाटले व्यक्तिगत रुपमा दुवै टिमलाई नगद पुरस्कार प्रदान गरेका थिए।

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत राज्य समन्वय परिषद्, वेल्सका अध्यक्ष डा. रानाभाटले यस अवसरमा बोल्दै भने, ‘आज युवाहरूले खेलकुदका माध्यमबाट देखाएको एकताले स्थानीय नेपाली संस्थाहरूलाई युवाहरूको चाहना बुझ्न मद्दत गरेको छ। यसले सहकार्यबाट ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने पनि प्रमाणित गरेको छ।’

राज्य समन्वय परिषद्, वेल्सले आगामी वर्षहरूमा यस्ता प्रतियोगिताहरूलाई वेल्सको वार्षिक क्यालेन्डरमा समावेश गर्ने योजना बनाएको छ। यसका लागि परिषद्ले वेल्सभरिका विभिन्न संघसंस्था र व्यक्तिहरूसँग सहकार्य गर्ने तयारी गरिरहेको छ।

साथै, वेल्सका अन्य क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका टिमहरूलाई समेत सहभागी गराएर प्रतियोगितालाई अझ व्यापक बनाउने लक्ष्य छ।

खेलपछि कार्डिफ टिमका कप्तान अमरध्वज मल्लले भने, ‘बराबरीमा टुङ्गिए पनि दुवै टिमले प्रदर्शन गरेको अनुशासन, प्रतिबद्धता र ऊर्जा प्रेरणादायी थियो। गत वर्षको तुलनामा यस वर्ष हाम्रो प्रदर्शन सुधारिएको छ। यस्ता मैत्रीपूर्ण खेलहरूलाई निरन्तरता दिँदै आगामी प्रतियोगिताहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ।’

उनले कार्यक्रममा सहयोग पुर्याउने गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद् वेल्स, नेपाली समाज वेल्स, कार्डिफ र कार्डिफस्थित समुदायलाई धन्यवाद ज्ञापन गरे।

कुम्ब्रान टिमका कप्तान सजिन मादेनले पनि टिमको प्रदर्शन सन्तोषजनक रहेको बताए। उनले पुरस्कार वितरणले युवाहरूलाई हौसला मिलेको उल्लेख गर्दै कुम्ब्रान समुदायको तर्फबाट आभार व्यक्त गरे। ‘आजको खेलबाट हामीले धेरै सिकेका छौं, र आगामी खेलमा थप संगठित, अनुशासित र आक्रामक रूपमा प्रस्तुत हुनेछौं,” उनले भने। “हामी वेल्सभरि नेपाली समुदायमाझ देखिएको सकारात्मक भावनालाई कायम राख्न प्रतिबद्ध छौं।‘

यसैबीच, नेपाली समाज वेल्स, कार्डिफका अध्यक्ष पदम पुनले कार्डिफ क्षेत्रका युवाहरूलाई खेलकुदका माध्यमबाट सशक्त बनाउन संस्था सदैव तत्पर रहेको बताए। उनले आफू पनि खेलाडीका रूपमा मैदानमा उत्रेर युवाहरूको उत्साहमा सहभागी भएको उल्लेख गरे।

यो खेल कार्डिफ र कुम्ब्रान नेपाली फुटबल टिमको संयुक्त आयोजना थियो। गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद् वेल्स र नेपाली समाज वेल्स, कार्डिफले यस कार्यक्रमलाई आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू