मंगलबार, १६ जुन, २०२६
09:02 | १३:४७

गैरआवासीय नेपालीलाई १० वर्ष निःशुल्क भिसा दिन प्रस्ताव

नेपाली लिङ्क जुन १६, २०२६

काठमाडौं- सरकारले गैरआवासीय नेपालीहरूका लागि ठूलो नीतिगत परिवर्तनको तयारी गरेको छ ।

अब नेपालले १७ प्रकारका भिसा जारी गर्ने प्रस्ताव अघि बढाएको छ, जसमा गैरआवासिय नेपालीदेखि कूटनीतिक, खेलकुद, मेडिकल, फिल्म, प्रेस र व्यवसायिक भिसासम्म समावेश छन् ।

प्रस्तावित अध्यागमन विधेयकअनुसार, गैरआवासीय नेपाली र उनीहरूको परिवारलाई नेपालमा बसोबास गर्न १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था गरिएको छ । यो सुविधा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका वा गैरआवासीय परिचयपत्र लिएका नेपाली मूलका विदेशी नागरिकहरूले पाउनेछन् ।

विधेयकमा ‘परिवार’भित्र पति, पत्नी, आमा, बुबा, छोराछोरी, बाजे–बज्यैदेखि सासू–ससुरासम्म समेटिएको छ ।

नेपालमा विदेशीहरूको प्रवेश, बसोबास र प्रस्थानलाई व्यवस्थित गर्न यो कानुनी संशोधन आवश्यक भएको सरकारको भनाइ छ । तर योसँगै कडा नियम पनि प्रस्ताव गरिएको छ ।

कुनै पनि विदेशी नेपाल प्रवेश गर्नका लागि वैध राहदानी र नेपालको भिसा अनिवार्य हुने र शंकास्पद कागजात देखिएमा अध्यागमन अधिकृतले भिसा इन्कार गर्न सक्ने अधिकार दिइएको छ ।

त्यसैगरी, कुनै मुलुकसँगको सम्झौता अनुसार सरकारले विशेष प्रवेश सुविधा पनि दिन सक्नेछ । तर त्यसरी नेपालभित्र प्रवेश गर्दा वा बस्दा तोकिए बमोजिमका कागजात पेस गर्नु पर्नेछ ।

प्रस्तावित अध्यागमन विधेयकले नेपालको भिसा प्रणालीलाई अझ संरचित, कडा र डिजिटल बनाउन खोजिएको देखिन्छ । तर यो नीतिले नेपालमा बसोबास गर्ने विदेशी समुदायलाई कस्तो प्रभाव पार्ला ? र विदेशमा रहेका नेपालीहरूलाई नेपालसँग अझ नजिक ल्याउन यो कति प्रभावकारी होला ? त्यो भने विधेयक पारित भएर कार्यान्वयन भएपछि मात्र स्पष्ट हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू