सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मा सिफारिस: मिचियो वरिष्ठता क्रम

काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। यो निर्णयसँगै नेपालको न्यायिक इतिहासमा एक अभूतपूर्व परिवर्तन आएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठतम् न्यायाधीशहरूलाई पछि राख्दै वरिष्ठताको रोलक्रममा चौथो स्थानमा रहेका डा. शर्मालाई सर्वोच्च अदालतको नेतृत्व सुम्पने निर्णय गरेको हो।
नेपालको न्यायपालिकामा सामान्यतया वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने प्रचलन थियो। तर, वरिष्ठता क्रममा रहेका तीन अन्य न्यायाधीशलाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरिनु नेपालको न्यायिक इतिहासमा पहिलो पटक भएको हो।
डा. शर्माभन्दा अगाडि वरिष्ठता सूचीमा अन्य तीनजना न्यायाधीशहरू थिए। परिषद्को यो निर्णयले कानुनी र राजनीतिक क्षेत्रमा गम्भीर बहस निम्त्याएको छ।
संवैधानिक परिषद्को सिफारिस अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ। संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि र राष्ट्रपतिबाट शपथ लिएपछि उनी नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।



