बिहीबार, ३० अप्रिल, २०२६
22:57 | ०३:४२

रोल्पा जीप दुर्घटनामा २० जनाले ज्यान गुमाए, छानबिन गर्न समिति

नेपाली लिङ्क अप्रिल ३०, २०२६

काठमाडौँ । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार अपराह्न ३ बजे कच्ची सडकबाट करिब आठ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाले लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा परेको जनाए ।

प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्न जाँदै गरेका यात्रु चढेको जीप दुर्घटना भएको अनुमान गरेको छ । वैशाख पूर्णिमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ ।

यसैबीच, गृह मन्त्रालयले जीप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले आज सचिवस्तरको निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहनुभएको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू