ओली अस्पतालमा, लेखक २ नं गण महाराजगञ्जमा



काठमाडौँ, चैत १४ गते । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेसंगै प्रदर्शन शुरु भएको छ । काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्ने क्रममा झडप भएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा प्रहरीले एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । ओलीलाई गुण्डु र लेखकलाई भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको हो ।
नेता लेखकलाई प्रहरीले २ नं गण महाराजगञ्जमा राखेको छ । ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा राखिएको छ । उनलाई ‘एनेक्स वान’ भवनको बेड नम्बर ५०१ मा राखिएको अस्पतालले जनाएको छ ।
ओली मिर्गौला प्रत्यारोपणका पुरानो बिरामी र हिरासतको तनावले स्वास्थ्यमा थप जटिलता आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै ‘आइसोलेसन वार्ड’मा राखिएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले बताएका छन् । चिकित्सकले ओलीको मुटुको धड्कन केही तलमाथि पाइएको बताएका छन् ।
उता, नेकपा (एमाले) ले आफ्ना अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको हो ।
बैठकले उनीहरुलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ ।
साथै बैठकले जेनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि माग गरेको छ ।


