शुक्रबार, २७ मार्च, २०२६
10:54 | १६:३९

बालेनले लिए प्रधानमन्त्रीको शपथ, को को बने मन्त्री ?

नेपाली लिङ्क मार्च २७, २०२६


काठमाडौं- रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

 

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

राम नवमीको अवसर पारेर सनातन वैदिक र बौद्धिक परम्परागत अनुसार १२ः३४ को शुभ साइतमा बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमङ्गल पाठ र ७ वटा शङ्खबाट शङ्खनाद गरिएको थियो ।

को को बने मन्त्री ?


प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय जिम्मा पाएका छन् ।

विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रीको, दीपक साह (महोत्तरी) ले श्रम रोजगार मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू