नवनिर्वाचित सांसदहरूले लिए शपथ


काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ जना सांसदलाई शपथ गराएका हुन् । तीमध्ये ४७ जना सांसदहरूले १७ मातृभाषामा शपथ लिएका छन्।उनीहरु आ–आफ्नो भेषभूषामा सजिएर आएका थिए । प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा शपथको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।
ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सांसदहरुले नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
को को थिए मातृभाषामा शपथ लिने ?
राससका अनुसार, कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए ।
मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरूमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गङ्गा छन्त्यालले छन्त्याल, करिस्मा कठरियाले ‘कठरीया थारू’ भाषामा शपथ लिए ।
त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए । सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए ।
कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिए ।
अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ र रुकेश रन्जितले नेपाल भाषामा शपथ लिए ।
नितिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिए भने ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिएका थिए ।
माधवराज राईले बान्तावा, कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिए । रेनुका काउचाले मगर खाम भाषा एवं प्रमोदकुमार महतो र राजकिशोर महतोले मगही भाषामा शपथ लिए ।
अङ्किता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शङ्कर यादव, सीताराम साहले मैथिली भाषामा शपथ लिए । कृपाराम रानाले राना थारू भाषामा शपथ लिए ।
त्यसैगरी पूर्णप्रसाद लिम्बू,सन्तोष सुब्बा, सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिए भने खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिइन् ।
प्रतिनिधिसभाका सहायक प्रवक्ता (उपसचिव) अनन्तप्रसाद कोइरालाले मातृभाषामा शपथ लिने भनेर सुरुमा ६२ जनाले नाम टिपाएकामा पछि विस्तारै थपिँदै गएको र कतिले लिएको भन्ने यकिन गर्ने काम भइरहेको बताए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


