बिहीबार, ३० अप्रिल, २०२६
14:40 | १९:२५

काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’

नेपाली लिङ्क मार्च ७, २०२६

काठमाडौँ, फागुन २३ गते । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी भएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याइन् ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन् ।

यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाकै पुकार बम निर्वाचित भएका छन् । उनी २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याएका छन् ।

यससँगै काठमाडौँमा रास्वपाले ‘क्लिन स्विप’ गरेको छ । यसअघि रास्वपा उम्मेदवार काठमाडौं १ मा रन्जु न्यौपाने, ३ मा राजुनाथ पाण्डे, ५ मा सस्मित पोखरेल, ६ मा शिषिर खनाल, ७ मा गणेश पराजुली, ८ मा बिराज भक्त, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रताप विष्ट विजयी भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू