रास्वपाको लहर देशभर, बालेन ओलीभन्दा १७ हजार मतले अगाडि



काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहंदा प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर अग्रस्थान बनाइरहेको छ ।
हालसम्म प्राप्त विवरणअनुसार रास्वापाले ८ सिट जितेको छ भने १०७ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
त्यस्तै नेपाली कांग्रेसले ३ सिट जितेको छ र ११ क्षेत्रमा अग्रता लिइरहेको छ । नेपाली कम्युनिष्ट पार्टीले २ सिट जितेको छ भने १० क्षेत्रमा अग्रता बनाएको छ।
नेकपा एमालेले हालसम्म कुनै सिट जित्न सकेको छैन तर १४ क्षेत्रमा अग्रता कायम गरेको छ । हर्कराज साम्पाङको श्रम संस्कृति पार्टीले पनि हालसम्म सिट जित्न सकेको छैन् । उसले ६ क्षेत्रमा अग्रता लिएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।
यी हुन् रास्वपाका विजयी उम्मेदवार
काठमाडौंको थप दुई क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काठमाडौं ७ मा २७ हजार ८०५ मत प्राप्त गरि गणेश पराजुली विजयी भए भने कांग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार ९८२ मत पाए। त्यस्तै, एमालेका प्रकाश श्रेष्ठ तेस्रो हुँदै तीन हजार ६६७ मत पाए ।
उता काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी हुँदा कांग्रेसका हिमाल कार्कीले आठ हजार एक सय मत मात्रै पाए। नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले चार हजार ८६४ मत ल्याएका छन् ।
काठमाडौंको चार क्षेत्रमा यसअघि नै रास्वपाले जितिसकेको छ ।
काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे।
उता, काठमाडौँ क्षेत्र नं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए । रास्वपाका श्रेष्ठ २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३ हजार २ सय १७ र नेपाली काँग्रेसका उम्मेदवार सपना राजभण्डारीले २ हजार ८ सय ३५ मत प्राप्त गरे ।
यसैबीच, काठमाडौँ क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार रास्वपाका खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भए । खनालका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नं ६ मा कूल ४३ हजार ८ सय ६३ मत खसेको थियो ।
काठमाडौं–१ मा रास्वपाकी रञ्जु (दर्शना) न्यौपाने विजयी भइसकेकी छन् । जम्मा २९ हजार ७ सय ७४ मतमध्ये रञ्जु दर्शनाले १५ हजार ४ सय ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए । नेपाली काँग्रेसले ६ हजार ३ सय ३४, नेकपा एमालेले एक हजार ६ सय १८ र नेपाली कम्युनिष्ट पार्टीले तीन सय ४५ मत प्राप्त गरेको छ ।
उता, कास्की ३ मा ठूलो मतान्तरसहित रास्वपाकी बिना गुरुङ विजयी भएकी छिन्। उनी ३७ हजार ७५० मत ल्याएर विजयी भएकी हुन्। झण्डै २५ हजार मतान्तरसहित उनी निर्वाचित भइन् ।
उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए । एमालेका दामोदर पौडेलले सात हजार ९०६ र नेकपाका गोपाल गिरीले एक हजार ४०६ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी ३६ हजार ८५९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका गुरुराज घिमिरेले १२, १४७ मत प्राप्त गरे।
बालेनको फराकिलो अग्रता
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह (बालेन)ले फराकिलो अग्रता कायम राखेका छन् ।
बालेनले २२ हजार ७४२ मत पाउँदा नेकपा एमालेका अध्यक्षसमेत रहेका एमाले उमेदवार केपी शर्मा ओलीले जम्मा पाँच हजार ८६४ मत पाएका छन् । बालेन ओलीभन्दा १६ हजार ८७८ मतले अगाडि छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


