प्रणय दिवसमा पोखरा गुञ्जायमान, ‘मेरो एउटा साथी छ’ कन्सर्ट भव्य



पोखरा– प्रणय दिवसको अवसर पारेर पोखरामा आयोजित ‘मेरो एउटा साथी छ’ लाइभ कन्सर्ट भव्य भएको छ।
फेब्रुअरी १४ मा लेकसाइडस्थित लेभल्स क्लबमा भएको कार्यक्रममा लोकप्रिय गायक सुगम पोखरेलको चर्चित गीत ‘मेरो एउटा साथी छ’ को थीममा आधारित प्रस्तुतिले दर्शकलाई रातभर झुमायो।
कार्यक्रमको सुरुवात गायक निर्मल दाहालको प्रस्तुतिबाट भएको थियो। प्रारम्भदेखि नै दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो।
त्यसपछि प्रेमिल गीतका लागि परिचित गायक कमल खत्री स्टेजमा उक्लिँदा माहोल झनै तातेको थियो।
९० को दशकका चर्चित गायक अनिष सापकोटा (ओकिली) २७ वर्षपछि पोखराको स्टेजमा फर्किँदा दर्शक पुराना दिनको सम्झनामा डुबेका थिए।
उनले ‘मेरी ओकिली’ र ‘गुलावी जाडोले’ जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दा हल ताली र उत्साहले गुञ्जायमान बनेको थियो।
सुगमको उत्कृष्ट सांगीतिक प्रदर्शन

मुख्य आकर्षणका रूपमा स्टेजमा उक्लिएका सुगम पोखरेलले ‘मेरो एउटा साथी छ’ बाट आफ्नो प्रस्तुति सुरु गरेका थिए।
उक्त गीतसँगै कन्सर्टले अझ उचाइ समातेको थियो। लामो समयदेखि प्रतिक्षारत दर्शकहरू फ्लोरमा उत्रिएपछि कार्यक्रम झनै प्रेमिल र ऊर्जामय बनेको थियो।
सुगमले ‘मेरो संसार तिमी नै हौ’, ‘फेरि त्यो दिन’, ‘सम्झनामा’, ‘झिल्के ले’, ‘रुन्न भन्थेँ’, ‘कति दिन बिते’, ‘एउटा मान्छे’, ‘मायाको बाटो’, ‘स्कूल पाठशाला’, ‘साथी’, ‘सम्हालिन्छ कहिले मन’, ‘जाँदैछु टाढा’, ‘म यस्तो गीत गाउँछु’ लगायतका आफ्ना चर्चित तथा सदाबहार गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।
मेन मिडियाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब ७ सय दर्शकको प्रत्यक्ष उपस्थिति थियो। पहिलो शो नै सफल भएपछि आयोजक पक्ष उत्साहित देखिएको छ।

आगामी कार्यक्रम
मेन मिडियाका सिईओ सुन्दर बस्यालका अनुसार अब ‘मेरो एउटा साथी छ’ कन्सर्ट बुटवल, चितवन, विराटनगर, बेनीलगायत देशका विभिन्न शहरमा आयोजना गरिनेछ। साथै, विदेशमा रहेका नेपाली समुदायमाझ पनि कार्यक्रम प्रस्तुत गर्ने योजना रहेको जनाइएको छ।
कार्यक्रमका अफिसियल होस्ट तथा सञ्चारकर्मी सञ्जोक बस्यालले कन्सर्टले प्राप्त सफलताले अझ उत्साह थपेको र आगामी दिनहरूमा आयोजना गरिने कार्यक्रमहरूले देश तथा विदेशमा रहेका विभिन्न उमेर समूहका दर्शकहरूलाई संगीतको माध्यमबाट जोड्ने उद्देश्य राखिएको बताए।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


