आइतबार, २५ जनवरी, २०२६
13:55 | १९:४०

एनआरएनए डेलिगेट्स विवरण १४ फेब्रुअरीभित्र सचिवालयमा पठाइसक्न स्टेरिङ कमिटीको निर्देशन

नेपाली लिङ्क जनवरी २५, २०२६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको आठौं बैठक २४ जनवरी शनिबार सम्पन्न भएको छ ।

महासचिव गौरीराज जोशीद्वारा सञ्चालित उक्त बैठकले महत्वपूर्ण छलफल र निर्णयहरू गरेको संघले जनाएको छ ।

बैठकमा स्टेरिङ कमिटीले हालसम्म गरिएका निर्णयहरूको प्रगति विवरण तथा कार्यान्वयनको समीक्षा गरेको छ । सोही आधारमा स्टेरिङ कमिटीका निर्णयअनुसार गठन गरिएका समितिहरूले हालसम्म सम्पन्न गरेका कार्यहरूको विवरण संकलन गर्ने, कार्य सम्पादनका क्रममा देखिएका अप्ठ्याराहरूको जानकारी लिने तथा कार्यान्वयन अझ सहज बनाउने वातावरण सिर्जना गर्ने निर्णय गरिएको छ ।

बैठकमा सदस्यता, डेलिगेट आह्वान तथा मेम्बरसीप–फि सम्बन्धी निर्णय समेत गरिएको छ । बैठकले नयाँ वा छुटेका सदस्यता आवेदनको समयावधि जनवरी २५, २०२६ राति १२ बजे (नेपाली समय) बाट स्वतः बन्द हुने, सबै एनसीसीहरूलाई ३१ जनवरी २०२६ मा सदस्यताको अन्तिम नामावली प्रकाशित हुने जानकारी गराइने र सो मितिलाई सदस्यता ‘लक डेट’ का रूपमा लागू गरिने निर्णय भएको छ ।

एनसीसीहरूले १ फेब्रुअरीदेखि १० फेब्रुअरी २०२६ सम्म डेलिगेट सिफारिस गर्नुपर्ने र १४ फेब्रुअरी २०२६ राति १२ बजे (नेपाली समय) भित्र डेलिगेटको विवरण सचिवालयमा पठाइसक्नुपर्ने बैठकको निर्णय छ ।

उक्त प्रक्रियाका लागि शनिबारबाटै लागू हुने गरी डेलिगेट आह्वान गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई फरक टिम भएमा डेलिगेट कसरी चयन गर्ने भन्ने विषयमा कार्यविधि तयार गरी ३१ जनवरी २०२६ भित्र निर्णय गर्ने, सोको ड्राफ्ट स्टेरिङ कमिटीमा प्रस्तुत गर्ने र अन्तिम कार्यविधि एनसीसीहरूलाई पठाउने निर्णय पनि भएको छ ।

आइसीसीमा बुझाउनुपर्ने मेम्बरसीप–फि अनिवार्य रूपमा तिर्नुपर्ने र तोकिएको शुल्क नबुझाएमा सम्बन्धित देशका डेलिगेटहरूलाई महाअधिवेशनमा सहभागी हुन नपाइने (पहिलेदेखिकै अभ्यासअनुसार) निर्णय पनि गरेको छ ।

बैठकमा परराष्ट्र मन्त्रालयसँगको समन्वयसम्बन्धी छलफलपछि पनि निर्णय गरिएको छ । अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठको अगुवाइमा कानुनविदसहित परराष्ट्र मन्त्रालयसँग समन्वयकारी बैठक आयोजना गर्ने तथा नेपालमा भौतिक रूपमा उपस्थित हुन नसक्ने स्टेरिङ कमिटी सदस्यहरूको अनलाइन माध्यमबाट सहभागिता सुनिश्चित गर्ने निर्णय पनि भएको छ ।

उक्त बैठकका लागि परराष्ट्र मन्त्रालयसँग औपचारिक पत्राचार गर्ने र सम्भव भए ३–५ दिनभित्र औपचारिक छलफल गर्ने निर्णय भएको छ । समन्वयकारी बैठक सम्पन्न भएपछि निर्वाचन प्रक्रियासम्बन्धी लिखित नोट वा आधिकारिक माइनेट तयार गर्ने सहमति भएको छ ।

बैठकमा एनआरएनए सचिवालयलाई अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय अनलाइन भोटिङ कम्पनीहरूको खोजी गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ । १२ औँ महाधिवेशनको थिम सम्बन्धमा आगामी बैठकमा छलफल गरी प्रस्ताव पेश गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू