चुनाव र म



एमाले भन्छ
अनुशासन
काङ्ग्रेस भन्छ
स्वतन्त्रता
माओवादी भन्छ
बलिदान
सबै बोल्छन्।
सबै ठिक होकि जस्तो लाग्छ
तर म?
म चुपचाप
आफ्नो कोठाको भाडा तिर्छु,
आफ्नो सपना थाम्छु,
आफ्नो भोलि गन्न थाल्छु।
जब चुनाव आउँछ
अचानक तिनका लागि
म महत्त्वपूर्ण हुन्छु।
मसंग हात मिलाइन्छ,
नाम सोधिन्छ,
फोटो पनि खिचाइन्छ।
तर,
भोलिपल्ट?
म फेरि
लाइनमा उभिएको
सामान्य नागरिक हुन्छु।
एमालेको योजना
मेरो भान्सामा अट्दैन।
काङ्ग्रेसको भाषण
मेरो आमाको चित्त बुझ्दैन।
माओवादीको इतिहास
मेरो वर्तमानको भोक मेट्दैन।
उनीहरू भन्छन्
देश बनिरहेछ।
म सोध्छु
त्यो देशमा
मेरो ठाउँ कहाँ छ?
उनीहरू कुर्सी गन्छन्।
म महिना।
उनीहरू सत्ता बाँड्छन्।
म समय।
भोट हाल्ने दिन
म सबैको हुन्छु।
बाँकी दिन
कसैको पनि हुँदिन।
एमाले।
काङ्ग्रेस।
माओवादी।
नाम फरक,
आवाज उस्तै।
र म
हरेक पाँच वर्षमा
आशा लिन्छु,
हरेक दिन
रित्तो हुन्छु।
यो कविता
दलहरुको विरुद्ध होइन।
यो
बिर्सिएको मान्छेको
आवाज हो।
यो मेरो आवाज हो
कवि- सन्दीप भट्ट, हाल लन्डन
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


