शनिबार, १६ मे, २०२६
21:00 | ०१:४५

नवीन के भट्टराई व्याण्डसहित फेरि लाइभ परफर्मेन्स गर्न लन्डन उत्रंदै

नेपाली लिङ्क मे १६, २०२६

लन्डन । आधुनिक नेपाली पप संगीतमा आफ्नो महत्वपूर्ण योगदानका लागि परिचित गायक, गीतकार एवं नवीन के भट्टराई फेरि बेलायतका दर्शकमाझ प्रस्तुत हुने भएका छन् ।

बर्नटोक नेपलिज युथले गायक भट्टराई र उनको ब्याण्ड ‘अतृप्त’ का साथ ‘सांझ पख’ नामक लाइभ कन्सर्ट गर्न लागेको हो ।

३० मे शनिबार सांझ ६ बजेदेखि मिल हिल स्कुल हलमा कार्यक्रम तय भएको छ ।

नवीन के भट्टराईले गत वर्ष पनि लन्डन ह्यारोमा अतृप्त व्याण्डसहित लाइभ ‘परफर्म’ गरेका थिए । ‘लाफ्टर फर लाइफ’ लाइभ इन लन्डन कार्यक्रममा महानायक राजेश हमाल र लोकप्रिय हांस्यकलाकार सन्दीप क्षेत्रीका साथ भएको नवीनको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका थिए ।

आफ्नो गायन करिअरको तीन दशक बढी अवधिमा गायक एवं गीतकार नवीन के भट्टराईले आफ्नो ब्यान्डका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय हजारौं प्रत्यक्ष कार्यक्रम प्रस्तुत गरिसकेका छन्। आज पनि लाइभ प्रस्तुतिप्रति उनको लगाव उस्तै छ। उनको भनाइमा लाइभ परफर्मेन्स संगीत र सम्पूर्ण कलालाई जीवित राख्ने अस्त्र हो। उनी विशेष गरी आफ्ना कार्यक्रमका क्रममा हुने दर्शकहरूसँगको साक्षात्कारलाई बडो कदर गर्ने गर्छन् ।

गायक भट्टराईका सदाबहार हिट गीतहरु ‘आँखामा तिमीलाई’, ‘तिमीलाई म दोबाटोमा’, ‘ए झरी’, ‘साँझ पख’, ‘रात बित्यो’ लगायतले सबै पुस्तालाई जोड्ने गरेको छ ।

उक्त सांगीतिक कार्यक्रमको शुरुवात लोकगायिका सम्झना भण्डारीले गर्नेछिन् । कार्यक्रममा ‘आकाशैमा चील उड्यो फनन…’ गाउने ग्लुमी गाइजका सुजेश वैद्य विशेष अतिथी कलाकारका रुपमा सहभागी हुने आयोजकले जनाएका छन् ।


आयोजकमध्ये एक विमल तिमिल्सिनाले कार्यक्रममार्फत सबै पुस्तालाई जोड्ने प्रयास गरिएको बताए । उनले अनलाइनमार्फत बेलैमा टिकट खरिद गरेर सिट सुरक्षित गर्न पनि अपिल गरेका छन् ।

करिब ७५ प्रतिशत टिकट विक्री भइसकेको आयोजकको भनाइ छ । भिआइपी र बाल्कोनी विक्री भइसकेकाले अब स्ट्याण्डिङ टिकटमात्र बांकी रहेको विमलले बताए । सही सर्च डटकममा गएर टिकट किन्न सकिन्छ ।

कन्सर्ट सकिएलगत्तै सोही भेन्यूमा ‘आफ्टर पार्टी’ समेत हुने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू