मंगलबार, ३ मार्च, २०२६
14:02 | १९:४७

नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण: रवि, बालेन र कुलमानबीच कार्यगत एकता

नेपाली लिङ्क डिसेम्बर २९, २०२५


काठमाडौँ। नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय एउटा नयाँ र शक्तिशाली समीकरणको चर्चाले तीव्रता पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो पार्टीका संरक्षक एवं ऊर्जा विज्ञ कुलमान घिसिङबीच रणनीतिक सहमति भएको जेनजी अगुवा सुदन गुरुङले बताएका छन्।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलायरै छोडिम र इतिहासले सम्झनेछ। रबि बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’

घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका छन् भने १६ प्रतिशत भन्दा बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएको बताइएको छ ।

प्राप्त जानकारी अनुसार, मुलुकको विद्यमान राजनीतिक अवस्था र सुशासनको मुद्दामा यी तीन प्रभावशाली व्यक्तित्वहरू एकै ठाउँमा उभिने तयारीमा जुटेका हुन्।

उनीहरूबीच देशको विकास, भ्रष्टाचार नियन्त्रण र युवा नेतृत्वलाई प्राथमिकता दिने विषयमा कार्यगत सहमति भएको दाबी स्रोतले गरेको छ। यद्यपि, यो सहमतिको औपचारिक घोषणा हुन भने बाँकी छ।

सहमति पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्र

मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई हृदयङ्गम गरी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य गर्दै नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै २०८२ साल भदौ २३ र २४ को जेन-जी (Gen-Z) आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरूको बलिदानलाई स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र उज्यालो नेपाल पार्टी (दोस्रो पक्ष) बीच देहायका सहमति भएको छ:

१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने।

२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने।

३. पहिलो पक्ष र दोस्रो पक्षबीच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साबिककै नीलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा नीलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने।

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल र स्वर्णिम वाग्ले रहने।

५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरू सँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने।

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।

हस्ताक्षरकर्ताहरू:
• रवि लामिछाने, सभापति (पहिलो पक्ष)
• अनुपकुमार उपाध्याय, अध्यक्ष (दोस्रो पक्ष)
• बालेन्द्र शाह, साक्षी
मिति: पुष १४, २०८२, काठमाडौँ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू