विदेशमा भएका नेपालीले अनलाइनबाटै गर्न सक्छन् मतदाता नामावली दर्ता
राष्ट्रिय परिचय पत्रका लागि दिएको वायोमेट्रिकले काम गर्छः निर्वाचन आयोग



काठमाडौं । राष्ट्रिय परिचय पत्र लिइसकेका नेपाली नागरिकले मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय पुगेर वायोमेट्रिक दिनु नपर्ने भएको छ।
आफूलाई सहज हुने स्थानबाटै फारम भरेपछि स्वत: राष्ट्रिय परिचय पत्रमा भएको विवरण मतदाता नामावलीका लागि प्रयोग गर्ने व्यवस्था मिलाएपछि मतदाताले वायोमेट्रिक दिनु नपर्ने भएको हो ।
निर्वाचन आयोगले आजैबाट लागू हुने गरी राष्ट्रिय परिचय पत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट फारम मात्रै भरे हुने व्यवस्था गरेको जनाएको छ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अुनसार अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडी कार्ड (राष्ट्रिय परिचय पत्र)बाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइएको जानकारी दिए।
उनले भने, ‘अहिले हाम्रो नेशनल आइडी (राष्ट्रिय परिचय पत्र)को भण्डारमा जम्मा भएको बायोमेट्रिक अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ। त्यसले तपाईंहरूका सबै मागलाई सम्बोधन गर्छ।’
जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो व्यवस्था गरेको उनको भनाइ छ। यसका लागि आयोगका प्राविधिकहरुले बुधबार रातभर प्राविधिक काम गरेका थिए।
पछिल्लो समय राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकाले विदेशमा रहेका नेपालीहरुले मतदाता नामावली दर्ता गर्न सहज बनेको हो।
अहिले धेरै नागरिकहरूले राष्ट्रिय परिचय पत्र बनाइसकेकाले मतदाता नामावलीका लागि थप सहज हुने विश्वास आयोगले लिएको छ।
राष्ट्रिय परिचय पत्र बनाइसकेका नागरिकहरू भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरूको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ।
सरकारले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ। यो समय सकिन अब तीन दिन मात्र बाँकी छ।
तर, ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको विवरण छुट्नसक्ने देखिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो। आयोगको निर्णयसँगै जिल्ला निर्वाचन कार्यालयहरूले कार्यान्वयनमा ल्याइसकेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी बताए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



