‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको सञ्चारमन्त्री खरेलको दाबी


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उनले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरेका हुन् ।
उनले भने- ‘डिजिटल लिडरसिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको छ, यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणामा आधारित भएर डिजिटल नेपालको रूपमा अगाडि बढाउन तथा एआईमैत्री नेपाल बनाउन फोरम फलदायी भएको छ ।’
सञ्चार मन्त्री खरेलले नेपालले डिजिटल तथा एआई ट्रान्सफरमेसन सम्बन्धी नीति बनाएर संरचनागत रूपमा काम अगाडि बढाएको उल्लेख गरे । उनले भने, ‘नेपालले विशेष गरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको छ । राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको छ । डिजिटल नेपालको रोडम्यापको मस्यौदा तयार गरिएको जानकारी फोरमलाई गराइएको छ ।’
सञ्चारमन्त्री खरेलले कोरियन सरकार, विश्व बैंकलगायत अन्य विभिन्न साझेदार संस्थाहरूसँग नेपाल सरकारको तर्फबाट आगामी दिनमा सहकार्य गर्ने प्रस्ताव फोरममा राखिएको जानकारी दिए । उनका अनुसार विशेष गरी कोरियन सरकार र विश्व बैंकलगायत साझेदार संस्थाको तर्फबाट पनि नेपाल सरकारसँग डिजिटल र एआई ट्रान्सफरमेसनको लागि आगामी दिनमा सहकार्य र साझेदारीका साथ अघि बढ्ने समझदारी बनेको छ ।
सञ्चारमन्त्री खरेलले भने- ‘डिजिटल र एआई विषयमा साझेदारी भन्नाले विभिन्न आर्थिक साझेदारी क्षमता अभिवृद्धि गर्न, ‘एक्सपोजर भिजिट’, ‘ज्ञान आदानप्रदान’ लगायतका विषयमा आगामी दिनमा साझेदारी गर्ने र नेपाललाई सहयोग गर्ने कुराकानी भएको छ ।’
समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य एवं साझेदारीताका विषयमा धारणा राखेका थिए । त्यसक्रममा कोरिया सरकार र त्यहाँको नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) बिच पनि आपसी सहकार्य र साझेदारीताका विषयमा परामर्श भएको थियो ।
फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा.शिवमाया तुम्बाहाम्फेलगायत सहभागी रहेका थिए । फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल मङ्गलवार कोरिया जानुभएको थियो । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेसनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
सञ्चार मन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन् । फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोबल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरू सञ्चालन भएका छन् ।
डिजिटल र एआई ट्रान्सफर्मेसन : एसडिजीहरू र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा ‘एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपालसहित विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार, सरकारी प्रतिनिधि तथा एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्थाहरू पनि सहभागिता रहेको छ ।
मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्किनेछन् ।



