बिहीबार, ६ नोभेम्बर, २०२५
17:56 | २३:४१

यूकेका लागि नेपाली राजदूत घिमिरेले दिए राजीनामा

नेपाली लिङ्क नोभेम्बर ६, २०२५

काठमाडौँ । संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन्।

सरकारले ११ देशका राजदूतलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएलगत्तै घिमिरेले पदबाट राजीनामा दिएका हुन्।

उनले आफ्नो फेसबुकमा बुधबार यूकेलाई बिदा गरेको र यस क्रममा आफूप्रति देखाएको सम्मानप्रति आभार रहेको लेखेका छन्।

राजदूत घिमिरेले काठमाडौँ आएपछि परराष्ट्र मन्त्रालयका सचिवसमक्ष आफूले प्रगति विवरणसँगै राजीनामा दिएको बताए।

सरकारले सोमबारमात्रै ११ मुलुकका राजदूतावासहरूमा पत्राचार गरेर राजदूत फिर्ता हुन भनेको थियो।

चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकाका राजदूतलाई सरकारले परराष्ट्र मन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता हुन भनेको थियो।

‘महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२।७।१७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरीय) भएको बेहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ,’ पत्रमा भनिएको थियो।

उनीहरूलाई कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको थियो। ‘नेपाल आउनका लागि महामहिमज्यूको नाममा यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गरी मिति २०८२ कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुनसमेत सोही निर्णयानुसार सादर अनुरोध छ,’ परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखा प्रमुख सुरेन्द्रकुमार यादवले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

पत्रमा राजदूतहरू नेपाल फर्केपछि सम्बन्धित नियोगमा उपनियोग प्रमुखले कार्यवाहक राजदूत भई कामकाज गर्ने सम्बन्धी निर्णय गर्न पनि भनिएको थियो।

सर्वोच्च अदालतको संयुक्त इजलासले आइतबारमात्र राजदूतहरू फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

सो आदेशको विषयमा सोमबार मन्त्रिपरिषद्‌मा छलफल हुँदा अन्तरिम आदेश बमोजिम थमौतीको पत्र नपठाउने अनौपचारिक निर्णय गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू