पृथ्वीको रहस्यमय अण्टार्कटिका डुलाउने जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’


‘यात्रा खराब या सुन्दर जस्तोसुकै भएपनि त्यसले सुनाउन लायक कथा अवश्य दिन्छ’- पृष्ठ १४२ मा उल्लेखित यहुदी उखान जस्तै जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका‘ पनि पढ्न र सुनाउन लायक पुस्तक पंक्तिमा छ ।
यो पुस्तक नेपाली यात्रा साहित्यको एक अमूल्य साहसिक कृति हो, जसमा नियात्राकार लामिछानेले अन्टार्कटिका जस्तो पृथ्वीको सबैभन्दा रहस्यमय भूभागको नालीबेली केलाउने प्रयास गरेका छन्।
‘अक्षत अण्टार्कटिका’ साधारण भाषामा लेखिएको असाधारण यात्रा वृत्तान्त रहेछ, जसले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय र रोमाञ्चक भूभाग अण्टार्कटिकाको अद्भूत संसारमा डुलाउँछ। दृश्यचित्र मात्र होइन, यस पुस्तकले पृथ्वीको भविष्यप्रति चेतना र प्रेरणा पनि जगाउँछ । वैज्ञानिक चिन्तन, मानवीय सम्बन्ध र आध्यात्मिक अनुभूति मिसिएको यो कृति पृथ्वीको सौन्दर्य र अस्तित्वबारे गहिरो सोच जगाउने प्रयास हो भन्दा अन्यथा हुने छैन् ।
अन्टार्कटिकामा जति चिसो छ त्यो भन्दा बढी सौन्दर्यको अनुभूति गर्न सकिने कुरा पुस्तकमा उल्लेख छ । यसमा लेखकले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको १२ दिने अन्टार्कटिका यात्रामा भोगेका जीवन्त अनुभवलाई प्रस्तुत गरेका छन् । नियात्राकार लामिछानेले यस अघि नै प्रकाशित गरिसकेका दुई कृति नियात्रा संग्रह ‘सरसर्ती संसार’ र ‘देश देशावर’ भन्दा यो कृति नितान्त फरक शैलीमा प्रस्तुत गरिएको छ ।
यो पुस्तकमा यात्रावर्णन मात्र होइन, पर्यावरणीय चेतनाको सन्देश पनि दिन खोजिएको छ। अन्टार्कटिकाको नाजुक वातावरण र जलवायु परिवर्तनको प्रभावबारे गम्भीर चिन्ता प्रकट गर्दै लेखकले यो महादेश भावी पुस्ताका लागि संरक्षित एवं सुरक्षित गरिनुपर्नेमा जोड दिएका छन्। वैज्ञानिक तथ्य, इतिहास र व्यक्तिगत अनुभूतिलाई एकै ठाउँमा मिलाएर लेख्ने उनको शैलीले पुस्तकलाई थप जीवन्तता प्रदान गरेको छ।
जीवा लामिछानेले यस पुस्तकमा अन्टार्कटिकाको सौन्दर्य, रहस्य र महत्त्वलाई यसरी प्रस्तुत गरेका छन् कि यसलाई मनन् गर्दा पाठकहरू स्वयं अन्टार्कटिकामा भएको अनुभूति गर्न पुग्छन्। यो पुस्तक यात्रा र साहित्य प्रेमीका लागि मात्र नभई पर्यावरणीय क्षेत्रका लागि पनि उत्तिकै उपयोगी छ । लेखकले आफ्नो लेखनबाट अन्टार्कटिकाको हिउँको सेतो मरुभूमि, हिमनदी, पेन्गुइन र आइसवर्गहरूको सजीव चित्रण गरेका छन् जसले त्यहाँको दृश्य पाठकको आँखा अगाडि घुमिरहन्छन् ।
बर्फिलो समुद्रमा ‘पोलर प्लन्ज’ (ध्रुवीय स्नान) गर्दाको अनुभवलाई ब्रतबन्धपछिका केहि दिन र बिहान काठमाडौंको चिसो पानीमा नुहाउँदाको स्मरण गर्दै ‘पोलर प्लन्ज’ त्यसैको एक्स्ट्रिम भर्सनका रुपमा आत्मसात् गरेको लामिछानेले वर्णन गरेका छन् । पुस्तकमा उल्लेख गरिएका उनका व्यक्तिगत अनुभवहरूले पुस्तकलाई अत्यन्त रोचक बनाउनुका साथै ‘अक्षत अन्टार्कटिका’ नेपाली यात्रासाहित्यमा कोशेढुङ्गा सावित भएको छ।
अन्टार्कटिकाको प्राकृतिक सौन्दर्यको वर्णनमा उल्लेखित दृश्यावलोकनलाई मनन् गर्दा ति दृश्यहरु साँच्चिकै आँखा अगाडि भएको भान हुन्छ । अन्टार्कटिकको चिसोपनदेखि डराएर भाग्न खोज्नेहरुका लागि बर्फिलो परिदृश्य, जीवजन्तु, र वातावरणसम्बन्धि चित्रणले अन्टार्कटिकामा चिसो मात्र होइन, सौन्दर्यको खानी पनि हो भन्ने पाठकलाई अनुभूति हुन्छ ।
लेखकले मार्को पोलो, जेम्स कुक जस्ता ऐतिहासिक यात्रीहरूको चर्चा गर्दै विभिन्न सामाग्रीको समेत अध्ययन गरेर अझ बढी जानकारी दिलाउने प्रयास गरेका छन् । यो पुस्तक तयार गर्न विभिन्न पुस्तक, वेबसाइट, वृत्तचित्र साथै बीबीसी, सीएनएन, नेशनल जियोग्राफिक म्यागेजिनलगायत अनलाइनको सहयोग लिएको उनले उल्लेख गरेका छन् । पुस्तकको अन्तमा झन्डै ५ दर्जन सन्दर्भ सामग्रीको सूची उल्लेख गर्दै अन्टार्कटिकाका विषयमा चासो राख्नेका लागि उपयोगी हुने उनको धारणा छ ।
भौतिक रुपमा टाढा रहेपनि यात्रा अवधिभर उनी पारिवारिक माहोलबाट भने टाढिएनन् । सामाजिक सञ्जालमा निकै सक्रिय लामिछानेले यात्रा अवधिमा तीव्र गतिको इन्टरनेटको जोहो गरेका थिए, जसका कारण आफ्ना हरेक गतिविधिलाई पत्नी बिन्दिता लामिछाने, पुत्रद्वय अनुराग र अनुकृतसमक्ष अवगत गराउंदै जान्थे । ‘पोलर प्लन्ज’ गर्नु अघि नै आफ्नो परिवारलाई अवगत गराइसकेका थिए र शुभकामनासमेत पाइसकेका थिए।
उनको त्यो साहसिक यात्राले कान्छो छोरा अनुकृतलाईसमेत प्रेरणा मिलेको इमेलमार्फत छोराले अवगत गराइसकेका थिए । माता-पिताका लागि छोराछोरी सधैं साना लाग्छन् तर, छोराको अभिभावकीय इमेल र छोराप्रतिको स्नेहले नै लामिछानेलाई मनभित्र बन्द रहेको त्यो यात्राको रहस्य पाठकसमक्ष पुर्याउन प्रेरित गरेको उनले उल्लेख गरेका छन् । उनको अन्टार्कटिका यात्रालाई ‘अक्षत अन्टार्कटिका’ को रुपमा पाठकसमक्ष प्रस्तुत गरिनुमा परिवारको साथ र कान्छो छोरा अनुकृतको पनि उत्तिकै प्रेरणा रहेको बुझ्न सकिन्छ ।
फाइन प्रिन्ट प्रकाशनले प्रकाशित गरेको ‘अक्षत अन्टार्कटिका’ ले ‘उत्तमशान्ति पुरस्कार २०८१’ समेत प्राप्त गरिसकेको छ, जसलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले प्रदान गरेको हो ।
१८३ पृष्ठको यो पुस्तकमा २७ शीर्षकमा विभाजित लेखहरू छन् जसमा घट्ना वर्णनसँगै इतिहास, विज्ञान, वातावरणीय चेतना र व्यक्तिगत अनुभूतिसहितको मिश्रणलाई सरल भाषा र सहज रुपमा चित्रण गरिएको छ ।
चितवनमा जन्मिएका लामिछानेले सिभिल इञ्जिनियरिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। समकालीन नेपाली साहित्यमा नियात्राकारको रूपमा आफूलाई स्थापित गराउन सफल लामिछानेको ‘सरसर्ती संसार’ र ‘देश देशावर’ पछिको यो तेस्रो नियात्रा संग्रह हो। नियात्रा संग्रहबाट थुप्रै पाठक एवम् शुभचिन्तक बटुल्न सफल लामिछानेको अर्को नियात्रा संग्रह कुन भूभागमा आधारित हुनेछ भन्ने उत्सुकता अहिले नै पाठकमाझ फैलिसकेको छ। सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



