बिहीबार, ३० अक्टोबर, २०२५
22:46 | ०४:३१

जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण, १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२५

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा घाइते भएकाहरुलाई परिचय पत्र वितरण सुरु गरिएको छ। मन्त्रालयले जारी गर्ने परिचय पत्रका आधारमा आन्दोलनका घाइतेहरुले सहज उपचार पाउनेछन् ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा गएर घाइतेहरुलाई परिचय पत्र वितरण गरेका छन्। सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिचयपत्र बाँड्न परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड ‘जेनजी क्लिनिक’ समेत स्थापना गरिएको छ।

घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको हो। साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म नि:शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ।

घाइतेहरुको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरुको संयोजकत्वमा कार्यदल गठन हुनेछ। आइतबार बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने एक मन्त्रीले बताए।

एकपटक उपचार गरी पटक-पटक फलोअपमा जानुपर्ने घाइतेहरुका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले नि:शुल्क एम्बुलेन्स व्यवस्था मिलाउनेछन्।

जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क व्यक्तिको नम्बर–

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू