शुक्रबार, ३१ अक्टोबर, २०२५
09:58 | १५:४३

बडादशैँ शुरु, आज घटस्थापना

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौँ । आजदेखि हिन्दू धर्मालम्वीहरूको महान् पर्व बडादशैँ सुरू भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ।

बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको शुभसाइत बिहान ९ बजेर १३ मिनेटमा छ। काठमाडौंको हनुमानढोका दरबार, गोरखाको प्राचीन दरबारमा रहेको दशैँ घरमा पनि आजै घटस्थापना गरिँदै छ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ। जौको अंकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत मनाइन्छ।

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ।

यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू