बुधबार, २७ अगस्ट, २०२५
22:22 | ०३:०७

यती तीजमा राष्ट्रिय कलाकारहरुको जमघट, नचाए दर्शक

नेपाली लिङ्क अगस्ट २७, २०२५

लन्डन । युरोपकै पहिलो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले २४ अगष्ट आइतबार लण्डन हेजस्थित कम्युनिटी हलमा तीज विशेष कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा लक्ष्मी नेपालीलाई आमन्त्रण गरिएको थियो । उनी यती पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार खगेन्द्र नेपालीकी धार्मपत्नी हुन् । 

प्रमुख अतिथि नेपाली र संस्थाका अध्यक्ष टंक भट्टराईकी श्रीमती साक्षी भट्टराईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएकी चर्चित कलाकार कोमल ओलीले ‘पोइला जान पाम’, ‘सुनिदेउ शिव’, ‘लाष्टै चोटी हो’,‘बाँजो खेतमा’ जस्ता आधा दर्जन गीतमार्फत मनोरन्जन दिलाइन् ।

‘मादल बज्दा हरेक नेपालीको खुट्टा उठ्नुपर्छ र लोकगीत बज्दा हात हल्लिनुपर्छ, नत्र नेपालीपन कहाँ हुन्छ?’ उनले भनिन् । 

रातो सिन्दुर विजयको प्रतिक भएको र बिहेपश्चात महिलाको पहिलो पाइला घरभित्र प्रवेश गर्ने हुँदा महिलाहरुलाई एकपटकको जीन्दगी खुशीसंग बिताउन र कसैसंग नझुक्न पनि उनको आग्रह थियो ।

जीवन एकपटक मात्र आउने हुँदा श्रीमानको मात्र आश्रित भएर नबाँच्न पनि उनले सुझाइन् । आफूले संचालन गर्दै आएको कोमल ओली फाउन्डेसनबारे जानकारी गराउंदै उनले विभिन्न क्षेत्रमा पुर्‍याएको सहयोग सम्बन्धमा पनि चर्चा गरिन् ।


यसैगरी गायिका साहिमा श्रेष्ठले पनि विभिन्न तीज गीत प्रस्तुत गरेर मनोरन्जन दिलाइन् । सो अवसरमा अस्मिता पुरीले प्रस्तुत गरेको तीज गीतको नृत्यमा दर्शकहरु मन्त्रमुग्ध बने । गायक सन्दीप न्यौपानेको जोडदार प्रस्तुतिमा पनि दर्शकहरु झुमे। कार्यक्रमको अन्तमा सामूहिक नृत्य गरिएको थियो ।


कार्यक्रममा तीज शुभकामना दिंदै यती अध्यक्ष टंक भट्टराईले बेलायतमा विभिन्न सांस्कृतिक, सामाजिक र सामुदायिक कार्यक्रम गर्दै आएको एसोसिएसनले भावी दिनमा थप गतिविधि गर्ने बताए । यसपटकको तीज साँझ वार्षिक योजनाको एउटा महत्वपूर्ण हिस्सा भएको पनि भट्टराईले जनाए । 

यती पूर्व अध्यक्ष खगेन्द्र नेपाली, पूर्व मेयर तथा हाल काउन्सिलर जीत रानाभाट र नेपाली साहित्य विकास परिषद यूके अध्यक्ष कोमल मल्ल श्रेष्ठले पनि तीज शुभकामना दिएका थिए ।

औपचारिक कार्यक्रम महासचिव आशिष पन्त र उपमहासचिव सुष्मा पौडेलले तथा सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव गोपाल बस्नेतले सञ्चालन गरेका थिए।

कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरूले गोपाल बस्नेतकै कोरियोग्राफीमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू