ओएनएफ यूकेको नवौं राष्ट्रिय अधिवेशन उद्घाटन



लेस्टर । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं राष्ट्रिय अधिवेशनको औपचारिक उद्घाटन भएको छ । एमाले महासचिव शंकर पोखरेल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत चन्द्र घिमिरेले अधिवेशनको संयुक्त रुपमा गरेका हुन् ।
सम्बोधनका क्रममा महासचिव पोखरेलले गैरआवासीय नेपालीहरुले संविधानले प्रदान गरेअनुरुप नागरिकताको अधिकार प्राप्त गर्ने बताएका छन् । उनले नीतिगत निर्णय भैसकेकाले व्यवहारिक रुपमा कानुनको अध्ययन गरेर चाडै समाधान गर्ने जानकारी दिए ।
एमाले नै नेपालको समृद्धीको नेतृत्व गर्ने महासचिव पोखरेलले बताए ।’नेपाली जहाजलाई यूरोप उडान भर्न लगाएको बन्देज न्यायपूर्ण छैन । तपाईंहरुले अन्य अन्तरराष्ट्रिय उडान भर्न दिएको बारेमा प्रश्न गर्न सक्नु पर्छ,’ महासचिव पोखरेलले भने ।
प्रवासमा नेपालीले गरेको दुख नेपालमा गर्ने हो भने नेपालमा धेरै सम्मान पाउनेले भएकाले आ -आफ्नो ठाउँमा सानो काम गर्न उनले अनुरोध गरे । त्यस्तै, महासचिव पोखरेलले प्रवासी नेपालीहरुले अन्तरराष्ट्रिय समुदायलाई पयर्टन, उर्जा, कृषिलगायत क्षेत्रमा थप लगानीका लागि प्रेरित गर्न आग्रह गरे ।
उनले एमाले नेतृत्वमाथि सांघातिक रुपमा हमला गरिएको बताउँदै ओम्नी, गिरीबन्धुलगायतका बारेमा निष्पक्ष छानविन गरे क्लीन चिट पाउने बताए । उनले एमालेभित्र कुनै विवाद नरहेको जनाउंदै एकताबद्ध रहेको जानकारी दिए ।
राजदूत घिमिरेले आफूले पांच महिने कार्यकाल बिताउंदै गर्दा बिट्रिश सोसाइटीसँग सम्पर्क बढाउने अभियानमा लागि रहेको बताए । नेपाल सरकारले सुरु गरेको समृद्धिको एजेण्डालाई सफल बनाउन थप एकताको खाँचो रहेको राजदूत घिमिरेको जोड थियो ।
ओएनएफ अन्तरराष्ट्रिय कमिटी अध्यक्ष संजय थापाले एनआरएनएको विवाद समाधान हामीबीचबाटै खोज्नु पर्ने बताए । उनले राजनीतिक दलहरु र अदालतको ढोका पुग्न नहुनेमा जोड दिए ।
ओएनएफ यूके इन्चार्ज सरस्वती केसीले ‘समृद्ध नेपाली सुखी नेपाली’ को अभियानमा प्रवासबाट सहयोग गरिरहेको बताए ।
अधिवेशन सफलताको शुभकामना दिन जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज सिंह पुगेका थिए । उनले भ्रष्ट्राचार नियन्त्रणमा महासचिव पोखरेलको भूमिका अपेक्षा पनि गरे ।
जनप्रगतिशील मंच यूकेका नेता रण केसीले मिडल्याण्डको तर्फबाट सबैलाई धन्यबाद दिए । उनले महासचिव पोखरेल युवापुस्ताको नेतृत्वका रुपमा अघि आउनु पर्ने बताए ।
सिर्जनशील समाजका अध्यक्ष पुण्डरी अर्याल, एनआरएनए आइसीसी उपाध्यक्ष डा हेमराज शर्माले दोस्रो पुस्ताका लागि गैरआवासी नेपाली नागरिकता सुनिश्चित गर्न एमाले नेतृत्वलाई आग्रह गरे ।
कार्यक्रममा उपस्थितहरुलाई उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत गरेका थिए । अर्का उपाध्यक्ष डा. मुकुन्द बास्तोलाले एमाले एकताबद्ध शक्तिका रुपमा रहेको जनाए । अध्यक्ष तुंगभद्र भुसालले अधिवेशनमा उपस्थित सबैलाई शुभकामना तथा धन्यबाद दिएका थिए ।
कार्यक्रमको बीचमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । अधिवेशनमा भाग लिन स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डसहित बेलायतभरबाट एमाले नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए । उनीहरुले आइतबार नै नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछन् ।
त्यस्तै, अधिवेशनमा भाग लिन नेपालबाट पोलिटव्युरो सदस्य सुजिता शाक्य, ओएनएफ अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापा, युरोपबाट सन्तोष भट्टराईलगायत ओएनएफ यूकेका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु र कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५