१० वर्षपछि बेलायत आएकी अन्जुले ओपन कन्सर्टमा नचाइन् दर्शक, साथ दिए खेम सेन्चुरीले



लन्डन । ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्, हर माया गर्ने जोडीले आफ्नै गीत भनोस्’ । झण्डै दशकपछि बेलायतका नेपाली गीत संगीतप्रेमी दर्शकमाझ यही गीत गाएर स्टेज उत्रिएकी सदाबहार गायिका अन्जु पन्तले शनिबार १७ औं नेपाली ओपन कन्सर्टमा आफ्ना कयौं हिट गीतले हजारौं दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।
‘धेरै माया नदेउ मलाई, एक्लै हुँदा गाह्रो हुन्छ’ छोरी परितोषिकाको अभिनय रहेको बोलको गजलबाट शुरु गरेकी उनले दर्जनौं नयाँ पुराना आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरिन् ।
मगर संघ यूकेले फार्नबरो रग्बी फुटबल मैदानमा गरेको ओपन कन्सर्टमा अन्जुका न बिर्से तिमीलाई नपाएं तिमीलाई, तिर्खा लाग्यो पानी पिएँ मैले के बिराएँ, भिजिट भिसामा, हितैको मायालाई कहाँ भेटौंला, सुर्के थैली खै, घरबार जोडीदेउ, भन्छु आज मनका कुरा, कत्ति रमाइलो, बुटे रुमाल, गोर्खा पल्टन जस्ता गीतमा हजारौं दर्शक खुला आकासमुनी झुमे । ‘म तिमी बिना मरिहाल्छु नि’ बोलको अन्तिम गीत मार्फत दर्शकहरुबाट बिदा माग्दै गर्दा दर्शकको मायाले निकै उत्साहित उनले भनिन् ‘१० वर्ष अघि आउँदाको माया घट्यो होला भनेको त झन् बढेको पाएँ ।’
कार्यक्रममा दर्शक, सर्जकलाई मात्र होइन छोरीको कलाकारिता, श्रीमानको चस्मा सफा नगर्ने बानी अनि आफूले लगाएको ड्रेस निर्माण गर्ने कुसुम बुटिकलगायत आफ्नो साथीको हिमाल डेन्टलको बारेमा समेत प्रसंशा गर्न भ्याइन् अन्जु ।
८ हजार भन्दा बढी गीत गाइसकेकी अन्जु पन्तले डेढ दर्जन बढी चलचित्रको गीतमा आवाज दिएकी छन् ।
‘म्यूजिक फर युनिटी’ नाराका साथ बेलायतको फार्नब्रो रग्बी फुटबल क्लवमा गरिएको उक्त कन्सर्टमा गायिका पन्तसहित खेम सेन्चुरी र भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडा मगरले पनि ‘परफर्म’ गरे ।
‘भ्वाइस अफ नेपाली सिजन ६ ‘ का कोचसमेत रहेका खेम सेन्चुरी पछिल्लो समयका निकै लोकप्रिय लोक संगीत क्षेत्रको एक दरिलो खम्बा, कुशल गायक, सर्जक तथा मोडलका रुपमा परिचित छन् । गायक सेन्चुरी पनि दर्शक नचाउन सफल भए । उनले ‘अरुलाई धानको पात, मायालाई पानको पात, म त ढलें ढलें, पानको पसल, सुन काटे जन्तर, राम राम मरौटी, ‘सुर्ती माड्दै माड्दै गयो जोवन’ जस्ता आफ्ना हिट आइटमबाट दर्शकलाई भरपुर मनोरन्जन दिलाए ।

खेम सेन्चुरी
युवा कलाकार विजय ठाडा मगरले पनि केही आफ्ना र केही अन्य कलाकारका विभिन्न गीत प्रस्तुत गरे । पवित्र गुरुङ, प्रसाद खप्तरी मगरलगायत स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए ।
बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यसहित मगर संघ यूकेले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट गर्दै आएको छ । नेपाली दूतावास लन्डनका प्रथम सचिव उद्धव न्यौपानेको प्रमुख आतिथ्यमा मगर संघ यूके अध्यक्ष लालबहादुर पुन (लालु) र कार्यक्रम प्रमुख संयोजक रुद्र थापामगरले रिबन काटेर कार्यक्रम उद्घाटन गरेका थिए ।
मगर संघ यूकेका महासचिव गोमन पुनले पहिलो औपचारिक र सांस्कृतिक सचिव नुनु पाइजामगर मगरको नेतृत्वमा सरुपा थापामगर र पवन रानामगरले दोस्रो चरणको सांगीतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
औपचारिक कार्यक्रममा संयोजक थापामगरले स्वागत मन्तव्य दिएका थिए भने प्रमुख अतिथि न्यौपानेले संक्षिप्त शुभकामना मन्तव्य र अध्यक्ष पुनले कार्यक्रम समापन गर्दै सबैलाई धन्यवाद दिए ।
कार्यक्रम सकिएलगत्तै मगर संघ यूकेले गायिका अन्जु पन्त, खेम सेन्चुरी, विजय ठाडा मगरलगायत कलाकारलाई सम्मान तथा विदाई गरेको छ । दुई कलाकार अन्जु र खेम आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

















सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



