आइतबार, जेठ २६, २०८२
06:08 | १०:५३

बेलायतका समाजसेवी दम्पत्ति राजशान्तिले लमजुङमा बांडे शैक्षिक सामग्री र पोशाक

नेपाली लिङ्क जुन ७, २०२५
लन्डन । बेलायतका वरिष्ठ समाजसेवी दम्पत्ति राजकुमार सुनार र शान्ति सुनारले स्थापना गरेको राजशान्ति फाउण्डेशनले लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र पुरस्कार प्रदान एवं अक्षय कोष स्थापना गरेको छ ।
कार्यक्रममा राजशान्ति फाउण्डेशनका संस्थापक राजकुमार सुनार र शान्ति सुनार, सचिव समिप सुनार र रन्जु सुनारको विशेष उपस्थितिमा हालै सहयोग हस्तान्तरण गरिएको हो ।
फाउण्डेशनले सुन्दर बजार नगरपालिका ९ स्थित भविष्य निर्माण माध्यमिक विद्यालय पैरेमा ५५ थान ट्रयाक सुट हस्तान्तरण गर्दै विद्यालयमा ५० हजार एकसय रुपैयांको अक्षय कोष पनि स्थापना गरेको विद्यालयका प्रधानाध्यापक मायानाथ अधिकारीले जानकारी दिए ।
त्यसैगरि, गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई जनही ५ हजार एक सय रुपैयां नगद प्रदान गरेको सचिव समिप सुनारले बताए ।
सुन्दरबजार नगरपालिका ४ पुराना डिहीस्थित गाउं खर्क प्राथमिक विद्यालय दुराडांडामा अध्ययनरत विद्यार्थीलाई समेत फाउण्डेशनले सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि फाउण्डेशनले २५ थान ट्रयाक सुट वितरण गरेको प्रधानाध्यापक रामु खनियाले जानकारी दिए ।
फाउण्डेशनले छिट्टै २५ जोर जुत्ता र मोजा समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको खनियाले बताए ।
साथै उक्त विद्यालयमा कक्षा ५ मा अध्ययनरत प्रिया अधिकारीलाई ‘सुन्दरबजार कटेसी कुन्छा भाग २’ गीतको म्यूजिक भिडियोमा नृत्य प्रस्तुत गर्न फाउण्डेशनले छनोट गरेको संस्थापक सुनारले जनाए ।
फाउण्डेशनले सुन्दरबजार नगरपालिका ६ स्थित आदर्श प्राथमिक विद्यालय शीतल चौतारीलाई २५ थान ट्रयाकसुट प्रदान गरेको विद्यालयका प्रधानाध्यापक शोभा ढुंगानाले जानकारी दिइन् ।
यसैगरि, फाउण्डेशनले सुन्दरबजार नगरपालिका ८ स्थित कालिका शिक्षा मन्दिरलाई २५ थान झोला हस्तान्तरण गरेको छ ।
आफ्नो परिवारले कमाएको सानो हिस्सा आफू जन्मे हुर्केको जिल्लाका बालबालिकाको शिक्षामा खर्चिने गरेको बताउंदै सुनारले भविष्यमा पनि यस्तै सामाजिक कार्यमा लाग्ने अठोट व्यक्त गरे । शिक्षाको माध्यमबाट भविष्य बदल्न सकिन्छ भन्ने विश्वासले आफूहरु अगाडि बढिरहेको संस्थापक सुनारले बताए ।
उनले शैक्षिक सामग्री र अक्षय कोष विद्यालयका लागि सार्थक पहल भएको जनाउंदै विगत ३ वर्षदेखि लमजुङ जिल्लाका विभिन्न विद्यालयमा अक्षय कोष स्थापना, शैक्षिक एवं खेलकुद सामग्री र पोशाक हस्तान्तरण गरिरहेको पनि बताए । फाउण्डेशनले स्थानीय शिक्षा तथा बालबालिकाको सर्वाङ्गीण विकासमा निरन्तर योगदान गर्दै आएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू