‘नेपाल यूके डट कम’ को प्रकाशन फेरि सुरु



सञ्चालक कृष्ण भट्ट
लन्डन – २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सुसूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको सामुदायिक वेबसाइट ‘नेपाल यूके डट कम’ को प्रकाशन फेरि सुरु गरिएको छ। विभिन्न कारणले लामो समयदेखि निष्क्रिय रहेको उक्त प्लेटफर्म शुक्रबार ६ जुन २०२५ देखि औपचारिक रूपमा फेरि संचालनमा आएको हो।
“बेलायतमा बसोबास गर्ने नेपाली विद्यार्थी, परिवार र पेशाकर्मीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी एक भरपर्दो र प्रयोगकर्तामैत्री सूचना मंचको आवश्यकता लामो समयदेखि महसुस भइरहेको बेला www.Nepaluk.com अब अझ बलियो, विस्तारित र उद्देश्यपूर्ण रूपमा पुनः सञ्चालनमा आएको हो,” नेपालयूके डटकमका संस्थापक तथा संचालक कृष्ण भट्टले भने। आजको यो पुनः शुभारम्भले लामो समयदेखिको एक महत्वपूर्ण अभावलाई पुरा गर्ने उनले विश्वास व्यक्त गरे ।
बेलायतमा बसोबास गरिरहेका वा नेपालबाट आउन तयारी गरिरहेका नेपालीहरूका लागि विश्वसनीय जानकारी, व्यावहारिक सहयोग र समुदायको महसुस हुने गरी सूचना र जानकारी एकै थलोबाट उपलब्ध गराउन वेबसाइटले पुलको काम गर्ने उनले बताए। “अब यहाँ कसैले पनि एक्लो महसुस गर्नु पर्दैन, प्रश्न सोध्न, सहयोग खोज्न, वा समुदायसँग जोडिन सकिने छ,” भट्टले भने ।
नेपाल यूके डट कममा आवास सम्बन्धीविवरण, संस्थागत डायरेक्टरी, दूतावास सम्पर्क, समाचार र कार्यक्रमहरूको सूचना, सबै एकै ठाउँमा उपलब्ध छन् । यसबाहेक उक्त पोर्टलमा बेलायतका विश्वविद्यालय र कलेजहरूको सूची, नेपाली परिवारहरूले उपलब्ध गराएका आवासहरूको विवरण, नेपाली व्यवसायहरूमा रोजगारीको अवसर, कानुनी सल्लाह, भिसा मार्गदर्शन र शैक्षिक सहयोग सम्बन्धी जानकारी उपलब्ध छन्।
यसै गरी विदेशमा बसाई सुरु गर्दा आउने मानसिक तनाव, एक्लोपन, चिन्ता र आर्थिक समस्याहरूलाई बुझ्दै नेपालयूके डटकमले एक विशेष सूचना सेवा पनि सुरु गरेको छ। फोनमार्फत सोधिएका प्रश्नहरु र प्रश्नकर्ताको विवरण गोप्य राखिने र व्यापारिक उद्देश्यले ती विवरण तेश्रो पक्षलाई उपलब्ध नगराइने भट्टले जनाए।
यस बाहेक बेलायतमा रहेका भूतपूर्व गोर्खा, तिनका परिवार तथा नेपाली समुदायका प्रेरणादायी कथा र समाचारहरू, सामुदायिक कार्यक्रम र सांस्कृतिक पर्वहरूको जानकारी साथै आफ्ना सेवाहरू प्रचार गर्ने, व्यवसाय प्रवर्द्धन गर्ने र अवसर बाँड्ने स्थानको रुपमा पनि उक्त पोर्टल रहने जनाइएको छ।
“चाहे तपाईं पहिलो पटक अध्ययनका लागि आउँदै हुनुहुन्छ, रोजगारीको खोजीमा हुनुहुन्छ, वा दोस्रो पुस्ताका नेपाली–बेलायती नागरिक हुनुहुन्छ नेपालयूके डटकम तपाईंको सन्देश, समर्थन र सम्पर्कको डिजिटल केन्द्र हो। समुदायद्वारा निर्मित, समुदायकै लागि पुस्ता र सिमाना पार गर्ने नेपालीहरूको लागि एक साझा डिजिटल थलोको विकास गर्न तपाईंहरु सबैको सुझाव, सल्लाह र सहयोग हामीले अपेक्षा गरेका छौं,” भट्टले भने।