बिहीबार, जेठ ९, २०८२
23:31 | ०४:१६

क्षेत्री समाज यूकेको वार्षिक भेटघाट जुलाईमा, युवा पुस्तालाई विशेष जोड

नेपाली लिङ्क मे २१, २०२५

लन्डन । क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट आगामी जुलाई १२ तारिख शनिबार तय भएको छ । अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त वार्षिक भेटघाट कार्यक्रम बिहान १० देखि राति १० बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम सफल पार्न कार्यसमितिका सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकिएको छ ।

कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परा झल्किने खालका विभिन्न प्रस्तुति र डिजे हेम विष्टका साथ सांगीतिक मनोरन्जन प्रदान गरिने समाजले जनाएको छ । नयाँ पुस्ताहरुलाई आकर्षण गराउने उद्देश्यले उनीहरुका लागि यसपटक विशेष तयारी गरिएको छ ।

उक्त दिन सम्पूर्ण बेलायतवासी क्षेत्री बन्धुहरुलाई उपस्थित भइ आफ्नो धर्म संस्कृति र परम्परा जगेर्नाका लागि जुट्न समाजले आग्रह गरेको छ ।

उक्त वार्षिक भेटघाट कार्यक्रम केवल क्षेत्रीहरुको मात्र नभएर सम्पूर्ण बेलायतवासी नेपालीको साझा कार्यक्रम भएको समाजका अध्यक्ष टेक जीसीले बताए । जहाँ रहेपनि आफ्नो मौलिक परम्परा र संस्कृति नै नेपाली पहिचान भएकाले यसको जगेर्ना गर्नु सबैको जिम्मेवारी रहेको भन्दै उनले सबैको साथ सहयोग अपरिहार्य रहेको बताए ।

विदेशी भूमिमा आफ्नो धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सन् २००७ मा स्थापित क्षेत्री समाज यूकेले बेलायतमा रहेका क्षेत्रीहरुको संयोजकत्वमा हरेक वर्ष वार्षिक भेटघाट कार्यक्रम गर्दै आएको छ । ‘जातको लागि होइन, साथको लागि हामी’ भन्ने नारा बोकेर अघि बढेको समाज विभिन्न सामाजिक सेवामा पनि आवद्ध छ ।

यो एक गैर–राजनीतिक, सामाजिक र सांस्कृतिक संस्था भएकाले यसले सांस्कृतिक कार्यक्रम, समाज सेवा, युवा संलग्नता र नेपाली ऐतिहासिक धरोहरलाई प्रवर्धन गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ। यसले समुदायभित्र आपसी सम्बन्ध मजबुत बनाउन र भावनात्मक सम्बन्धको विकास गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

क्षेत्री समाज बेलायतले समाजको सदस्यता लिन चाहनेका लागि वार्षिक २० पाउण्ड र आजीवन सदस्य (लाइफ मेम्बर) २ सय २० पाउण्ड शुल्क निर्धारण गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू