आइतबार, वैशाख २१, २०८२
14:27 | १९:१२

एनआरएनए एकता महाधिवेशनले चुन्यो महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

नेपाली लिङ्क मे ४, २०२५

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

काठमाडौंमा जारी महाधिवेशनको दोस्रो दिन निर्वाचन समितिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको हो । जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठ लामो समयदेखि एनआरएन अभियानमा आवद्ध छन् ।

प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार उपाध्यक्षमा ६ जना खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तिगेला) र बुद्धिसागर सुवेदी निर्विरोध चयन भएका छन् ।

महिला उपाध्यक्षमा जुनु गुरुङ, महासचिव बाबुराम लामा, तीनजना सचिव (खुल्ला) टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे एवं महिला सचिव देवकी खत्री गुरुङ निर्वाचित भए । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोख्रेल, महिला संयोजक रश्मी थापा, युवा संयोजकमा भीमसेन थापा चयन भएका छन् ।सह-कोषाध्यक्ष (महिला) मा भने उम्मेदवारी नपरेको जनाइएको छ ।

त्यस्तै महाधिवेशनले क्षेत्रीय संयोजक र उपसंयोजक पनि चयन गरेको छ । जसमा एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोपमा प्रेमबहादुर गुरुङ, मध्यपूर्वमा रमेश श्रेष्ठ, उत्तरदक्षिण अमेरिकामा डिलुराम पराजुली, ओसियानामा इर्सद अहमद छन् ।

त्यसैगरि, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा रामप्रसाद खरेल र लोकेन्द्र ओली, युरोप क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र मीमबहादुर पूर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई छन् । उत्तरदक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजक रामप्रसाद कंडेल र प्रताप राना निर्विरोध निर्वाचित भएका निर्वातन समितिले जनाएको छ । अफ्रिका क्षेत्रीय संयोजक र उपसंयोजकमा भने उम्मेदवारी परेन ।

२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको एनआरएनमा उत्पन्न सम्पूर्ण गतिरोधलाई निकास दिन शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई महाविधेशन गराउन परमादेश गरेको थियो ।

१०औं महाधिवेशनमा प्रतिनिधि चयन विवाद भएपछि २०७८ माघ १ गते तत्कालीन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको ८१ औं बैठकले तत्कालीन संरक्षक शेष घलेको संयोजकत्वमा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र कुमार पन्त रहेको ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । अदालतले यसलाई नै ब्युँताएर उच्चस्तरीय समिति बनाएको थियो ।

यस महाधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनबाट निर्वाचित बद्री केसी र उनको कार्यसमिति, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछानेहरुको सहभागिता छैन ।

शनिबार एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै गैरआवासीय नेपाली संघको एकता महाधिवेशन भएको बताएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू