आइतबार, वैशाख २१, २०८२
09:54 | १४:३९

ब्रिटिस गोर्खालाई वंशजको नागरिकता हुनुपर्नेमा संसदीय समितिका सभापतिहरू एक साथ

रासस मे ३, २०२५

काठमाडौँ । संसदीय समितिका सभापतिहरूले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन सहजता प्रदान गर्ने ढङ्गबाट कानुन निर्माण गरिने प्रतिबद्धता जनाएका छन् ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूले सन्तान भेट्न आमाबाबु विदेश जाने नभई छोराछोरी नेपाल आउने वातावरण निर्माण गर्ने गरी कानुन तर्जुमा गर्नेतर्फ ध्यान पुर्‍याइने बताए ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कानुन निर्माणमा कुनै राजनीतिक गन्ध नआउने र विदेशमा रहेका नेपाली नागरिकलाई देश फर्कन सहज तुल्याउन सकियोस् भन्नेमा सम्पूर्ण कोसिस रहने धारणा राखे ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले बेलायती–गोर्खा फौजमा राज्यले सम्झौता गरेर पठाएका नागरिकलाई आफ्ना होइन भन्ने विषय नेपालका लागि सुहाउँदो नभएको जिकिर गरे । आफ्ना नागरिकलाई पराई बनाउन हुन्न भन्नेमा राज्य उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा र निजामती प्रशासनमा सुधार नल्याएसम्म देश विकासको नारा कागजमा सिमित रहने धारणा राखे ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले संविधान र नेपालको नागरिकता ऐन २०६३ संशोधनका बेला ब्रिटिस गोर्खाले आफ्नो नागरिकताले निरन्तरता पाउनुपर्ने कारणसहितको दलिल पेस गर्नुपर्ने सुझाव दिए ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलुकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नरहेको तर्क गरे । उनले कसैलाई पनि राज्य विहीनताको अवस्थामा राख्न नहुने बताए ।


यसअघि अभियानका सल्लाहकार कृष्णबहादुर राईले देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्य विहीनताको अवस्था आउन नदिन र ब्रिटिस गोर्खाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैङ्कमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।  

अभियानका अध्यक्ष फुर्वा शेर्पाले ब्रिटिस गोर्खाले उठाउँदै आएका विषय पहिचान र न्याय, बलिदान र योगदानसँग जोडिएका भन्दै राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याए ।

उक्त अभियानले बेलायती सेनामा भर्ती भएका लाहुरेको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूको सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानुनी सुविधा हुनुपर्ने माग गर्दै आएको छ । 

त्यस अवसरमा बेलायती सेनाबाट निवृत्त भएका करिब २२ हजार पूर्व गोर्खा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिब २१ करोड पाउण्ड स्ट्रलिङ राष्ट्र बैङ्कमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू