बिहीबार, वैशाख १८, २०८२
08:53 | १३:३८

रास्वपा प्रवास विभाग यूके नयां कार्यसमितिको नेतृत्व पवन शर्मालाई

नेपाली लिङ्क अप्रिल ३०, २०२५


लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग यूकेको प्रथम महाअधिवेशन नयां कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ ।

द जंगल क्लव लेष्टरमा खचाखच सहभागीबीच सम्पन्न महाधिवेशनले प्रधुम्नराज (पवन) शर्माको सभापतित्वमा आगामी दुई वर्षका लागि २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कोलेश्वर ढकाल, महामन्त्रीमा कृष्ण लुईंटेल, सह–महामन्त्रीमा रमेश बेलबासे र कोषाध्यक्षमा बाबुराम न्यौपाने निर्विरोध चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा हरिहर भट्टराई, आदर्श श्रेष्ठ, धन गुरुङ, दिनेश खरेल, खीमलाल गौतम, मन्जु डुम्रे, पार्वती कंडेल, राजु सापकोटा, रामप्रसाद सुवेदी, ऋषी कडरिया, सौरव ओझा, शिवराज आचार्य, शुभाष चौलागाई, तुल कार्की र गोमा पौडेल निर्वाचित भए ।

नवनिर्वाचित समितिलाई पार्टीका केन्द्रिय उपसभापति तथा कार्यक्रमका प्रमुख अतिथि सांसद डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको सपथ गराएका थिए ।

नयाँ कार्यसमिति चयन गर्न डा. मिलन ज्ञवालीको संयोजकत्वमा डा. प्रकाश पाण्डे र पंकज अर्याल सम्मिलित निर्वाचन समिति बनाइएको थियो ।

यसअघि प्रवास सम्पर्क विभागका प्रवक्ता विष्णु चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको उक्त अधिवेशन सञ्चालन संस्थाका महामन्त्री राजु कंडेलले गरेका थिए ।

रास्वपा बेलायत सभापति पवन शर्माको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन पार्टीका उपसभापति वाग्ले र अध्यक्ष शर्माले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपसभापति तथा कार्यक्रमका प्रमुख अथिथि डा. वाग्लेले पार्टी सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने र आफ्नै पार्टीमा पनि कहिँ कतै अनियमितता भएको पाइए त्यसप्रति निर्मम ढंगले प्रस्तुत हुने बताए । उनले देशमा ब्याप्त भ्रष्टाचार र बेथिति अन्त्यकालागि आगामी २०८४ मा सम्पन्न हुने आम निर्वाचनमा निर्णायक धक्का दिन तयार रहन सम्पूर्ण प्रवासी नेपालीलाई आह्वान गरे ।

रास्वपा बेलायतका सभापति पवन शर्माले कार्यक्रम सफल पार्न सघाउने सबै र सहभागीप्रति आभार व्यक्त गर्दै युवाहरुको एकताले नेपाल बन्ने बताए । उक्त कार्यक्रममा करिब ३ सय बुद्धिजिवी र रास्वपा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू