अल्डरसट शिव मन्दिरमा माता तीर्थ औंसीका दिन ८५ जना आमाहरुलाई गराइयो भोजन



अल्डरसट – माता तीर्थ औंसीको पावन अवसरमा आइतबार अल्डरशटस्थित शिव मन्दिरमा दिवा भोजन तथा सेवा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अल्डरशट, फार्नबोरो तथा वरपर क्षेत्रका लगभग ८५ जना आमाहरुलाई निमन्त्रणा गरी सम्मानपूर्वक दिवा भोजन गराइएको थियो। सहभागी आमाहरु विभिन्न उमेर समूहका थिए भने जेष्ठ आमाको उमेर ८७ वर्ष थियो।
दिवा भोजनपछि फार्नबोरो साई सेन्टरका स्वयंसेवी नर्सहरू र शिव मन्दिरका सदस्यहरूले आमाहरूलाई शरीरको विभिन्न भागको विशेष मसाज, नङ काट्ने, कपाल कोर्ने, तेल लगाइदिने जस्ता सेवा प्रदान गरे।
मन्दिरका गुरु पण्डित राज कुमार धितालले माता तीर्थ औंसीको महत्व र सुरुवातका बारेमा जानकारी गराए संगै सुरु गरिएको कार्यक्रममा मन्दिरका अर्का पण्डित शिव वल्लभ रेग्मी, संरक्षक तथा ट्रस्टी वाचस्पति रेग्मी, संरक्षक तथा ट्रस्टी रोहित गुरुङ, समाजसेवी शान्ति थापा, उदय कुँवर, कोषाध्यक्ष निरज तिवारी, सह कोषाध्यक्ष किशोर गुरुङ, सदस्य अनिता गुरुङ, सदस्य रुपेश काफ्ले, तमुधिं बेलायतकी फर्स्ट लेडी कमला गुरुङ, तमुधिं बेलायतका अध्यक्ष तथा मन्दिरका संरक्षक जुमकाजी गुरुङ, जिआरएनसी अध्यक्ष मन्दिरका संरक्षक मान गुरुङ, बिएफबिएस गोर्खा रेडियोका संचालक योगराज राई, स्थानीय समाजसेवी डा. विशाल गुरुङ, व्यवसायी विमल गुरुङ, गोर्खा चौतारी संयोजक क्याप्टेन विष्णु श्रेष्ठ लगायतको उपस्थिति थियो।

सामग्री वन्दोवस्तदेखि खानपान र सेवा कार्यमा फार्नबोरो साई सेन्टरका स्वयंसेवकहरूको मुख्य सहयोग रह्यो। साईं सेन्टरका स्वयंसेवीहरु यस्ता सेवामा सदा अग्रस्थानमा छन् ।
समारोहको सञ्चालन मन्दिरकी महासचिव सुषमा गुरुङले गरेकी थिइन् । जिआरएनसी अध्यक्ष मान गुरुङले आमाहरुलाई स्वास्थ्यका लागि उपयोगी ताईची अभ्यास गराएका थिए।
कार्यक्रममा कलाकार पौल गुरुङले कथक नृत्य प्रस्तुत गर्दा प्रतिमा सुनुवारले आफ्नो बेजोड नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन्।
कार्यक्रमका अध्यक्ष बिक्रम भट्टराईले आमाहरुलाई एकपटक आँखा चिम्लेर आफ्नी आमाको अनुहार सम्झन आग्रह गर्दा धेरैजना आमाहरु भावुक भए । उनले शिव मन्दिरबाट पहिलोपटक आयोजना गरिएको यस्तो कार्यक्रमले आमाप्रतिको श्रद्धा र सम्मान व्यक्त गर्न ठूलो सन्देश दिएको बताए।

अध्यक्ष बिक्रम भट्टराई
कार्यक्रम अन्त्यमा आमाहरुलाई मन्दिरको तर्फबाट सम्झनाका रूपमा एक थान कप, सनराइज सप्लायर्सका संचालक निरज खड्काको प्रायोजनमा डाइजेस्टिभ बिस्कुट तथा मिठाई प्रसाद प्रदान गरी सम्मानपूर्वक विदाई गरिएको थियो।
कार्यक्रममा करिब १२० जनालाई सादा भात, मासको दाल, पनीरको तरकारी, अचार, पुरी, तरकारी, दही र चियाको व्यवस्था गरिएको थियो। सो अवसरमा मटर पनीरको तरकारी युवराजबाट प्राप्त भएको थियो भने चनाआलुको तरकारी अरविन्द सहानीबाट प्रायोजित थियो ।
शिव मन्दिर परिवारले यस्तो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



