बुधबार, १६ सेप्टेम्बर, २०२६
19:39 | ००:२४

भोटेकोशी बाढीपीडितका लागि एनआरएनए कोषमा हालसम्म ४ करोड २८ लाख

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिवद्धता अनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको जनाएको छ । संघका अनुसार, पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा विभिन्न संघसंस्था र नेपालीहरुको व्यक्तिगत तर्फबाट ४,२८,६९,२७१.३३ रुपैयाँ सहयोग कोषमा जम्मा भएको छ ।

संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकाले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा रहेको संघले जनाएको छ । एनआरएनएले प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयां दिने घोषणा गरिसकेको छ ।

भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान बुधबार २१ औँ दिन पनि जारी रह्यो।

उत्तरगया गाउँपालिका–३, डाँडागाउँमा स्वास्थ्य शिविर

भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी एनआरएनएले रसुवाको उत्तरगया गाउँपालिका–३, डाँडागाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बाढी तथा विपद्बाट प्रभावित स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारीसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

एनआरएनए ग्लोवल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको संयोजकत्वमा गएको स्वास्थ्य टोलीले डाँडागाउँका प्रभावित स्थानीयको स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरेको थियो। स्वास्थ्य शिविर सञ्चालनका लागि एनआरएनएले नेपाल रेडक्रस सोसाइटी, रसुवासँग समन्वय गरेको थियो। त्यस्तै, स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज कृष्णप्रसाद भण्डारीको समेत सहजीकरण र समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य टोलीमा डा. कावेरी कार्की, डा. शोभित गुरुङ र हरि कोजु सहभागी थिए । शिविरमा दीर्घरोग, एलर्जी, श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकीलगायत समस्या भएका स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो। सो अवसरमा आवश्यकताअनुसार मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइएको थियो।

शिविरबाट कुल ८३ जना स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार औषधि तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ ।

उता, रसुवाको उत्तरगया गाउँपालिकाका बाढी पीडित परिवारसँग भेट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिइएको छ। भेटका क्रममा उनीहरूको तत्काल आवश्यकता पहिचान गरिएको छ।

यसैबीच, रसुवा र नुवाकोटबाट विस्थापित भई हाल काठमाडौंमा बसिरहेका प्रभावितहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिन सम्बन्धित स्थानीय जनप्रतिनिधिसँग परामर्श गर्ने तयारी गरिएको छ।

हालसम्म निम्नलिखित राष्ट्रिय समन्वय परिषदले देहायअनुसार आर्थिक सहयोग संकलन गरि केन्द्रीय कोषमा जम्मा गरिसकेका छन् ।

क्र.सं. एनसीसी/संस्था प्राप्त रकम (रुपैयाँ)
युके (पहिलो चरणमा) ५३,४३,२४४.२५
बहराइन २५,७९,३२८.००
नर्वे १७,८९,८४२.९६
ओमान १३,१५,०००.००
इजरेल ५,०४,३८५.००
लग्जम्बेर्ग १०,४६,५४८.८६
साउदी अरेबिया १०,००,०००.००
टर्की ७,५०,३३७.००
म्यानमार ६,०१,०००.००
१० Stichting Nepal Fonds, Netherlands १०,५५,१९३.६०
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू