शनिबार, २९ अगस्ट, २०२६
15:28 | २०:१३

राहत अभियान तीव्र बनाउने एनआरएनएको निर्णय, पाँच करोड ४८ लाख रुपैयाँ प्रतिबद्धता

नेपाली लिङ्क अगस्ट २९, २०२६

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेको उद्धार, राहत तथा सहयोग अभियानको पछिल्लो अवस्थाबारे जानकारी तथा समीक्षा गर्न आईसीसी तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) प्रतिनिधिहरूको बैठक आयोजना गरेको छ।

बैठकमा एनआरएनएका संस्थापकहरू, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, आईसीसी तथा एनसीसीका प्रतिनिधिहरू, सल्लाहकारहरू, व्यक्तिगत दाताहरू तथा अन्य सहयोगीहरूको सहभागिता थियो।

बैठकमा सहभागीहरूले विपद्बाट उत्पन्न मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआरएनएले सञ्चालन गरिरहेको अभियानलाई अझ प्रभावकारी, व्यवस्थित र समन्वयात्मक रूपमा अगाडि बढाउने विषयमा छलफल भएको थियो।

गैरआवासीय नेपाली संघका प्रवक्ता सोम नाथ सापकोटाका अनुसार, बैठकमा उपस्थित विभिन्न राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू तथा क्षेत्रीय संयोजकहरूले आ–आफ्नो एनसीसी तथा अभियानअन्तर्गत हालसम्म भएका उद्धार, राहत तथा सहयोगसम्बन्धी गतिविधि र प्रगतिबारे जानकारी तथा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। बैठकमा विभिन्न देश तथा स्थानबाट भइरहेको सहयोग संकलन, स्थानीय नेपाली समुदाय तथा संघसंस्थासँगको समन्वय र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा समेत जानकारी प्रस्तुत गरिएको थियो।

बैठकमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले हालसम्म एनआरएनएका विभिन्न तहका पदाधिकारी, एनसीसी, संघसंस्था, व्यक्तिगत दाता तथा सहयोगीहरूबाट उद्धार तथा राहत अभियानका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको जानकारी गराउनुभयो। उहाँले सहयोगको प्रतिबद्धता जनाउनुहुने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै एनआरएनएका पूर्व तथा वर्तमान पदाधिकारी, आईसीसी सदस्य, एनसीसी प्रतिनिधि, सल्लाहकार तथा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई अभियानमा सहभागी हुन र आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो। हालसम्म केन्द्रीय समितिका करिब २० प्रतिशत सदस्यबाट मात्र सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिँदै बाँकी सबै सदस्यलाई पनि आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाउन उहाँले अनुरोध गर्नुभयो। साथै, सम्बन्धित एनसीसीहरूलाई आफ्ना साधारण सदस्य, नेपाली डायस्पोरा, स्थानीय नेपाली संघसंस्था तथा समुदायसँग प्रभावकारी समन्वय गरी अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन अनुरोध गर्नुभयो।

बैठकले अभियानलाई थप प्रभावकारी बनाउन सकारात्मक र रचनात्मक सार्वजनिक सञ्चारलाई प्राथमिकता दिने निर्णय गरेको छ। एनआरएनएका पूर्व पदाधिकारी, आईसीसी सदस्य, सल्लाहकार तथा गैरआवासीय नेपालीहरूले अभियानका सकारात्मक सन्देश, गतिविधि तथा नियमित प्रगतिका विवरणहरू आफ्ना सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी जनविश्वास बढाउन र थप सहभागिता तथा सहयोगका लागि वातावरण निर्माण गर्ने निर्णय भएको छ।

बैठकले सहयोगसम्बन्धी तथ्यांकलाई व्यवस्थित, पारदर्शी र नियमित रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ। एनआरएनए आईसीसीले प्राप्त भएका प्रतिबद्धता तथा सहयोगको स्पष्ट अभिलेख राख्नेछ, जसमा सहयोगकर्ताको नाम, प्रतिबद्ध वा प्राप्त रकम, प्रतिबद्धता वा सहयोग प्राप्त भएको मिति, देश तथा स्थान, सम्बन्धित एनसीसी, व्यक्तिगत वा संस्थागत सहयोग, स्थानीय संस्था वा समुदायको विवरण तथा रकम प्रतिबद्ध भएको वा प्राप्त भइसकेको अवस्था समावेश गरिनेछ। यसबाट कसले, कहिले, कहाँबाट र कुन एनसीसी वा संस्थामार्फत सहयोग गरेको हो भन्ने स्पष्ट रूपमा अभिलेख राख्दै पारदर्शिता कायम गरिनेछ।

बैठकले कुनै एनसीसी वा व्यक्तिगत दाताले सहयोगको प्रतिबद्धता वा सहयोग उपलब्ध गराएपछि एनआरएनए आईसीसीको तर्फबाट तत्काल धन्यवाद तथा प्रशंसासहितको आधिकारिक पत्र प्रदान गर्ने निर्णय गरेको छ। साथै, प्रतिबद्धता जनाइएका रकमहरू तोकिएको समयभित्र जम्मा हुने सुनिश्चित गर्न सम्बन्धित एनसीसी तथा व्यक्तिगत दातासँग आवश्यक समन्वय र नियमित फलोअप गर्ने निर्णय भएको छ।

संकलित सहयोग रकमलाई लामो समयसम्म रोकिराख्नुको सट्टा सरकारसँग आवश्यक समन्वय गरी समयमै तथा चरणबद्ध रूपमा रकम हस्तान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ। यसबाट संकलित रकम तत्काल प्रभावित समुदायसम्म पुर्‍याई उद्धार, राहत, स्वास्थ्य सेवा, पुनर्स्थापना तथा अन्य अत्यावश्यक मानवीय कार्यमा उपयोग गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, एनआरएनए आईसीसीले प्रत्येक २–३ दिनमा आधिकारिक रूपमा अभियानको प्रगति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। नियमित अपडेटमा हालसम्मको कुल प्रतिबद्ध रकम, प्राप्त रकम, एनसीसी, व्यक्तिगत दाता तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग, सञ्चालन भइरहेका उद्धार तथा राहत गतिविधि, सरकारलाई हस्तान्तरण गरिएको रकम तथा आगामी कार्यक्रम र योजनाबारे जानकारी समेटिनेछ। नियमित र पारदर्शी सूचना प्रवाहमार्फत अभियानप्रति जनविश्वास कायम गर्दै थप सहयोग जुटाउने लक्ष्य राखिएको छ।

बैठकले एकता, समन्वय, पारदर्शिता, जवाफदेहिता र सामूहिक जिम्मेवारी लाई अभियानको मुख्य आधार बनाउने निर्णय गरेको छ।

अरूले के गरे वा गरेनन् भन्ने विषयमा केन्द्रित हुनुको सट्टा एनआरएनएले आफ्नो अभियानलाई अझ मजबुत बनाउँदै विश्वभर रहेका नेपाली डायस्पोरा, एनसीसी, संघसंस्था, व्यक्तिगत दाता तथा शुभेच्छुकहरूको सामूहिक शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। सबै तहको एनआरएनए संरचना र विश्वभरका नेपालीहरूबीच प्रभावकारी समन्वय कायम गर्दै विपद्बाट प्रभावित नागरिकलाई अधिकतम सहयोग पुर्‍याउने गरी अभियानलाई सशक्त, पारदर्शी, जवाफदेही र व्यवस्थित रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू