आइतबार, ६ सेप्टेम्बर, २०२६
17:18 | २२:०३

बाढीपीडितको सहयोगका लागि लन्डनमा च्यारिटी पदयात्रा, बेलायती सांसद र मेयर पनि सहभागी

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२६

लन्डन — नेपालका बाढीपहिरो पीडितको सहयोगका लागि लन्डनमा आयोजित ‘च्यारिटी सोलिड्यारिटी वाक’मा करिब ५०० जना सहभागी भए।

नेपाली समुदायसँगै बेलायती समुदायका उल्लेख्य व्यक्तिहरूले समेत सहभागिता जनाउँदै नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

हेल्प नेपाल नेटवर्क यूकेको मुख्य आयोजना तथा बुद्ध फाउन्डेसन यूकेको सह–आयोजनामा शनिबार आयोजित पदयात्रामा बेलायती सांसद लुई फ्रेन्च, बेक्स्लीकी मेयर काउन्सिलर लिसा–जेन मुर, रोयल बरो अफ ग्रीनविचका मेयर काउन्सिलर डेभिड गार्डनर, विभिन्न काउन्सिलर तथा बेलायती समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए।

बेलायतमा सक्रिय दुई दर्जन बढी नेपाली संघसंस्थाले पनि कार्यक्रममा सहभागिता जनाउँदै नेपालका बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता जनाएका थिए।

वेलिङस्थित डान्सन पार्कबाट सुरु भएको करिब ५ माइल लामो पदयात्रा पूरा गर्न सहभागीहरूलाई करिब साढे दुई घण्टा लागेको थियो। पदयात्रा ब्ल्याकहिथमा पुगेर समापन भएको थियो।

ब्ल्याकहिथमा आयोजित समापन कार्यक्रममा बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन तथा मौनधारण गरिएको थियो।

हिन्दू धर्मगुरुबाट मन्त्र उच्चारण तथा बौद्ध धर्मगुरुबाट बुद्ध वन्दनासहित पीडितहरूको आत्माको शान्ति तथा प्रभावित परिवारको शीघ्र पुनःस्थापनाका लागि प्रार्थना गरिएको थियो।


कार्यक्रममा सांसद लुई फ्रेन्च, बेक्स्लीकी मेयर लिसा–जेन मुर, ग्रीनविचका मेयर डेभिड गार्डनर तथा ग्रीनविचका पूर्वमेयर काउन्सिलर जीत रनाभाटले छोटो सम्बोधन गर्दै नेपालमा भएको विपत्तिप्रति दुःख व्यक्त गरेका थिए।

उनीहरूले बाढीपहिरो पीडित तथा प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका थिए।

हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले कार्यक्रममा सहभागी नेपाली तथा बेलायती समुदायका सदस्य, सांसद, मेयर, पूर्वमेयर, काउन्सिलर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई धन्यवाद दिए।

उनले विपत्तिको समयमा नेपालका पीडित परिवारका लागि देखाइएको साथ र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।

बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठले पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे।

पदयात्राका क्रममा नेपालका बाढीपहिरो पीडितको सहयोगका लागि केही रकमसमेत संकलन गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू