रसुवा र नुवाकोटमा एनआरएनएको राहत अभियान तेस्रो दिन पनि जारी


काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत अभियान आज तेस्रो दिन पनि जारी रह्यो।
संघका पदाधिकारी तथा स्वयंसेवकहरूको टोलीले प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा खटियो ।
रसुवामा राहत सामग्री वितरण
गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रवक्ता सोमनाथ सापकोटाका अनुसार, एनआरएनए चीनको सहयोगमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा अस्थायी रूपमा आश्रय लिएर बसेका करिब ४०० जना बालबालिकाका लागि ३ हजार थान कपडा तथा ५० थान सोलार लाइट आज (२०८३ भदौ १३ गते) वितरण गरिएको छ।
एनआरएनए चीनका उपाध्यक्ष प्रदीप नेपालको नेतृत्वमा रसुवा पुगेको टोलीले प्रभावित बालबालिकालाई उक्त राहत सामग्री वितरण गरेको हो। बाढीका कारण प्रभावित बालबालिकाको तत्काल आवश्यकता पूरा गर्ने उद्देश्यले कपडा तथा सोलार लाइट वितरण गरिएको हो।
यसअघि नुवाकोटमा एनआरएनएले हिजो र अस्ति गरी रु. ५० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।
आजै रसुवाको थुमन, उत्तरगया गाउँपालिका तथा गोसाइँकुण्ड गाउँपालिका र नुवाकोटकोआँखुटार, त्रिशूली बजार, शोलेलगायतका बाढी प्रभावित क्षेत्रका स्थानीयवासी तथा सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरी त्यहाँको वर्तमान अवस्था, प्रभावित नागरिकले भोगिरहेका समस्या तथा तत्काल आवश्यकताबारे जानकारी लिएर त्यसको आधारमा प्रभावितहरूको तत्काल तथा दीर्घकालीन आवश्यकता सम्बोधन गर्न आगामी राहत, पुनःस्थापना तथा सहयोगको रणनीति तयार गरिएको छ ।
यस्तै बाढीबाट विस्थापित भई काठमाडौं आएका व्यक्तिहरूसँग भेटघाट गरी उनीहरूको वर्तमान अवस्था, समस्या तथा आवश्यकताबारे जानकारी समेत लिइएको छ ।

बाढी प्रभावितका लागि एनआरएनएको राहत अभियान तीव्र
एनआरएनए राहत अभियानअन्तर्गत हालसम्म रु. ४ करोड ८२ लाख ७४ हजार ७५ रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ। संकलित रकम राहत तथा मानवीय सहायता पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। संघले विभिन्न एनसीसीमार्फत संकलित सहयोग रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गर्नेछ।
स्वास्थ्य सेवा तथा चिकित्सकीय सहयोग
राहतसँगै प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एनआरएनएले स्वास्थ्य सेवा तथा चिकित्सकीय सहयोगलाई समेत निरन्तरता दिएको छ। डा. सञ्जीव सापकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली भोलि (२०८३ भदौ १४ गते) नुवाकोट जांदैछ । टोलीले प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय सेवा प्रदान गर्नेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


