बुधबार, २६ अगस्ट, २०२६
22:53 | ०३:३८

भोटेकोशीमा आएको बाढीबाट एक हजार बढी सवारीसाधनमा क्षति

रासस अगस्ट २६, २०२६

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार बाढीमा परेर एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको हो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारीसाधन र ४०० भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।

“सामान लिनका लागि भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाईंकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका एक हजार ३०० बढी सवारीसाधनमा क्षति पुगेको छ, निजी सवारीसाधनमा भएको क्षतिबारे यकिन गर्न सकिएको छैन,” महासचिव गौतमले भने ।

बाढीले चीनको केरुङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौँ ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारीसाधनमा क्षति पुर्‍याएको महासङ्घले जनाएको छ ।

महासचिव गौतमले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेवा स्थगित गरिएको बताए । उनले विपद्को घडीमा तत्काल उद्धार र राहतका लागि सबै क्षेत्रसँग अपिल गरेका छन् ।

महासङ्घले नेपाल सरकारसँग तत्काल सबै निकायहरू परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । साथै, बाढी प्रभावित व्यवसायी र मजदुरलाई पुनः जीविकोपार्जनको वातावरण मिलाउन महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू