तीन वर्षीया बालिकाको हत्याप्रति गम्भीर ध्यानाकर्षण


काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१, भक्ति टोलकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको घटनाप्रति साझा सहयात्री नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गत आइतबारदेखि हराइरहेकी बालिकाको शव मंगलबार साँझ घरनजिकैको एक खाली घरमा फेला परेपछि उक्त क्षेत्रमा शोक र आक्रोश छाएको छ।
साझा सहयात्री नेपालले यस अमानवीय र जघन्य अपराधको घोर भत्र्सना गरेको छ। संस्थाकी अध्यक्ष गीता केसी दर्नालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “एक अवोध बालिकामाथि भएको यो क्रूर घटनाले बालबालिकाको सुरक्षा र संरक्षणको सवालमा गम्भीर प्रश्न खडा गरेको छ।”
नेपालको संविधान र बाल अधिकारसम्बन्धी महासन्धिले बालबालिकालाई हिंसाबाट सुरक्षित रहने र सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरे तापनि यस्ता घटनाहरू दोहोरिनु दुःखद भएको संस्थाले उल्लेख गरेको छ।
साझा सहयात्री नेपालले घटनाको तत्काल, निष्पक्ष र गहन छानबिन गर्न, दोषीको पहिचान गरी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न, छानबिन प्रक्रियालाई कुनै पनि राजनीतिक वा सामाजिक प्रभावबाट मुक्त राख्न, पीडित परिवारलाई न्याय प्रक्रियामा पूर्ण सहयोग, सुरक्षा र मनोवैज्ञानिक परामर्शको व्यवस्था गर्न पनि माग गरेको छ।
साथै, संस्थाले यस दुःखद घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडित परिवारको गोपनीयता र गरिमाको सम्मान गर्न, बालिकाको तस्बिर वा संवेदनशील विवरणहरू जथाभावी सार्वजनिक नगर्न पनि सञ्चारमाध्यम र आम नागरिकलाई आग्रह गरिएको छ।
बालबालिकाको सुरक्षा राज्य र समाजको सामूहिक दायित्व रहेको भन्दै संस्थाले यस्ता जघन्य अपराधविरुद्ध एकजुट हुन आह्वान गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


