वरिष्ठ लोकगायक प्रेमराजा महत बेलायतमा, विभिन्न सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने

लन्डन। नेपाली लोकदोहोरी क्षेत्रका वरिष्ठ तथा चर्चित गायक प्रेमराजा महत बेलायतमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमका लागि अमेरिकाको बाल्टिमोरबाट बेलायत आइपुगेका छन्।
हिथ्रो विमानस्थलमा आइपुगेका गायक महतलाई तनहुँ समाज यूकेका वरिष्ठ सल्लाहकार मेजर कुलबहादुर थापा, महासचिव महेन्द्र आले, कोषाध्यक्ष लेख राना, कृष्ण ‘किसान’ आले र शुक्र श्रेष्ठलगायतले स्वागत गरेका थिए।
तनहुँ समाज यूकेको निमन्त्रणामा बेलायत आएका गायक महत करिब एक महिनासम्म बेलायतमा रहने तथा विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने समाजका अध्यक्ष सन्त गुरुङले जानकारी दिए।
तनहुँ समाज यूकेको १९औँ वार्षिक भेटघाट तथा बार्बेक्यु कार्यक्रममा सहभागी हुन महत बेलायत आएका हुन्।
आगामी अगस्ट ८ तारिख अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा आयोजना हुने कार्यक्रममा महतसँगै ‘कौरा किङ’का रूपमा परिचित गायक दुर्गा गुरुङ, लोकदोहोरी गायिका शर्मिला गुरुङ र रुपी सिंजाली मगरले सांगीतिक प्रस्तुति दिनेछन्।
कार्यक्रममा तनहुँको मौलिक लाइभ कौरा तथा चुड्का नृत्य, स्थानीय कलाकारहरूको प्रस्तुति, नेपाली खानाका परिकार तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।
बेलायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सफल बनाउन समाजले तयारी तीव्र बनाएको छ।
यसैगरी, गायक महत अगस्ट २२ तारिखमा रेडिङमा आयोजना हुने ‘रेडिङ म्युजिकल नाइट–२०२६’ मा पनि सहभागी हुनेछन्। उक्त कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल’की विजेता नीता थापा मगर तथा कौरा र चुड्का गीतका चर्चित गायक दुर्गा गुरुङको समेत प्रस्तुति रहनेछ।
तनहुँ समाज यूकेले बेलायतमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ।
यसैगरी कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धनमा साथ दिन गायक महतले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


