बिहीबार, २ जुलाइ, २०२६
14:04 | १८:४९

बुवा र भिनाजुलाई फसाउन छिमेकीको हत्या गर्ने युवक पक्राउ

नेपाली लिङ्क जुलाइ २, २०२६

सर्लाही- सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ।

असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी हत्या आरोपी सन्तोषलाई सार्वजनिक गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार असार ६ गते मोबाइलको निहुँमा आरोपी सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग झगडा भएको थियो । बुवा श्यामबाबु र भिनाजु रामविलास रायसँग बारम्बार पैसा माग्दा पनि नदिएपछि सन्तोष आक्रोशित बनेका थिए । सोही कारण आफ्नो घरमा बारम्बार आइरहने छिमेकी होसनारायणको हत्या गरेमा बुवा र भिनाजु स्वतः फस्ने योजना बनाई सन्तोषले सो घटना घटाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले जानकारी दिए। खराब आचरणका कारण सन्तोषलाई परिवारले यसअघि सुधार केन्द्रमा समेत राखिसकेको एसपी पौडेलले बताए ।

प्रहरीका अनुसार सन्तोषले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्न जाँदा र हत्यापछि फरार हुँदा उनले चोरीको ना. ४५ प. २६८५ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । होसनारायणको हत्यापछि सन्तोषले उक्त मोटरसाइकल लालबन्दी नगरपालिका–२, नवलपुर क्षेत्रमा छाडेर फरार भएका थिए । असार ८ गतेदेखि बेवारिसे अवस्थामा रहेको सो मोटरसाइकलबारे प्रहरीलाई असार १४ गते मात्र जानकारी प्राप्त भएको थियो ।

प्रहरीले असार १६ गते बरहथवा नगरपालिका–७, बरहथवा बजार नजिकबाट सन्तोषलाई पक्राउ गरेपछि उनले मोटरसाइकल नवलपुरमा छाडेको स्वीकार गरेका थिए । घटनास्थल नजिकैको एक पसलमा जडान गरिएको सिसी टिभी क्यामेराको फुटेज र प्राविधिक सहायताका आधारमा प्रहरीले सन्तोषलाई पक्राउ गर्न सफल भएको हो ।

हत्यापछि सन्तोषले खेतमा फ्याँकेको हँसिया प्रहरीले बरहथवा नगरपालिका–१३ बाट बरामद गरेको छ । सन्तोषमाथि कर्तव्य ज्यान र चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीले बताए।

 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू