शुक्रबार, ५ जुन, २०२६
19:57 | ००:४२

भारतबाट फर्किए रास्वपा सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने

रासस जुन ५, २०२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा गएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका हुन् ।

उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतीय जनता पार्टी (भाजपा)का विदेश मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले बिदाइ गरेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा एस जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । सो अवसरमा दुई पक्षबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू