आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित गर्ने अर्थमन्त्रीको तयारी



अर्थमन्त्री डा. स्वार्णिम वाग्ले
काठमाडौँ, चैत २३ गते । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा उनले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने रहेको बताएका हुन् ।
बजेटमा सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनका लागि महत्त्वपूर्ण प्याकेज समेटिने बताउँदै मन्त्री डा वाग्लेले गोरखकालीलगायत केही संस्थानलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गरे ।
सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानबाट केही समूह अतालिएको बताउँदै उनले अनुसन्धान थप सशक्त बनाउदै नियमविपरीत कारोबार गर्नेलाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुलुकलाई ‘ग्रे लिस्ट’ बाट हटाउन पनि सरकारले सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिँदै मन्त्री वाग्लेले वर्षौँदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पारे ।
उनले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको र दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए ।
मन्त्री डा. वाग्लेले युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उल्लेख गरे ।
नाफिज अध्यक्ष मेनुका कार्कीले सरकारले प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयनमा समस्या हुने हुँदा त्यसको विकल्पमा देशले आर्थिक विकासमा फड्को मार्ने गरी नीति कार्यक्रम ल्याउन आग्रह गरिन् ।


